नाइमा एक्स्पो २०२५: जेइको-एलएस अटो र लिप मोटरका नयाँ ईभी, यस्ता छन् विशेषता

काठमाडौं । साउन २१ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ का कारण विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो रुचि झनै तीव्र बन्दै गएको देखिन्छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको यस एक्स्पोमा करिब ५० ब्रान्डको सहभागिता रहनेछ । यद्यपि, यस प्रदर्शनीमा सार्वजनिक हुने केहि सवारीहरूबारे ब्रान्डहरूले पहिल्यै जानकारी दिइसकेका छन् । विशेषगरी जेइको, लिपमोटर र एलएस अटोका मोडेलहरू विशेष आकर्षण बन्ने देखिएको छ ।
‘जेइको जे–५’
एसपीजी अटोमोबाइल्सले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे–५’ सार्वजनिक गर्ने तयारी गरेको छ । ओमोडा ई–५ र जेइको जे–६ जस्ता मोडेलहरूसँगै कम्पनीले नेपाली इभी बजारमा थप विकल्प प्रस्तुत गर्न लागेको हो ।
जेइको जे–५ एडभेन्चरस यात्राका लागि विशेष डिजाइन गरिएको पूर्ण इलेक्ट्रिक एसयूभी हो । यसमा आराम र रगेड क्षमताको संयोजन गरिएको छ, जसले गर्दा यसलाई सहरी सडक र हल्का अफ–रोड दुबैका लागि उपयुक्त बनाएको छ । शार्प एंगुलर डिजाइन भएको यो मोडेल ‘रेन्ज रोभर’ शैलीसँग तुलना गर्न सकिन्छ ।
यस एसयूभीमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, प्यानोरामिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामेरा, र स्वतन्त्र सस्पेन्सनजस्ता प्रविधिहरू उपलब्ध छन् । यी विशेषताले चालकलाई सुरक्षित र सहज अनुभव दिने कम्पनीको दाबी छ ।
भित्रको डिजाइन पनि उच्च स्तरीय छ, जहाँ भेन्टिलेटेड सिटसहित कनेक्टेड कार टेक्नोलोजी, पूर्ण डिजिटल स्मार्ट इन्स्ट्रुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडा दोस्रो पंक्ति, २५६–कलर एम्बियन्स लाइट, ४८० लिटरको ट्रंक र ३६ वटा स्टोरेज कम्पार्टमेन्ट राखिएका छन् । एसयूभीको लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटर रहेको छ । साथै, १८–इन्चको एलोय ह्विल्सले यसको डिजाइनलाई अझ आकर्षक बनाएको छ ।
५८.९ किलोवाट आवरको ब्याट्री र १५५ किलोवाटको मोटरले यसलाई एकपटकको चार्जमा ४०२ किलोमिटर सम्मको डब्लूएलटीपी प्रमाणित दूरी तय गर्न सक्ने बनाएको छ । सुरक्षा पक्षलाई प्राथमिकतामा राख्दै यसमा फरवार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङसहित १९ वटा अन्य स्मार्ट सेफ्टी फिचर समावेश छन् । नाइमा एक्स्पो २०२५ को माध्यमबाट जे–५ सार्वजनिक गर्दै कम्पनीले प्रविधि, पर्फमेन्स र लक्जरीको संयोजनमा आधारित इभी मोडेल प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
एलईभी–०५ र एलईभी एक्स
एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले दुई नयाँ इलेक्ट्रिक कार मोडेल नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले एक्सपोमा ‘एलईभी–०५’ र ‘एलईभी एक्स’ सार्वजनिक गर्ने जनाएको छ ।
एलईभी–०५ प्रिमियम ह्याचब्याक वर्गको विद्युतीय सवारी हो । चार हजार २ सय मिलिमिटर लम्बाइ, एक हजार ७७० मिलिमिटर चौडाइ र एक हजार ६१० मिलिमिटर उचाइ रहेको यस कारमा दुई हजार ६५० मिलिमिटरको ह्विलबेस दिइएको छ । यसको १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ भने १७ इन्चको एलोय ह्विल प्रयोग गरिएको छ ।
कम्पनीका अनुसार एलईभी–०५ मा अगाडिको पाङ्ग्रामा पावर दिने ५० किलोवाट क्षमताको मोटर जडान हुनेछ, जसले १८० न्युटन मिटरको टर्क दिनेछ । यसमा प्रयोग गरिएको ५६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीप्याकले एकपटक चार्जमा ४ सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्ने दाबी गरिएको छ । चार्जिङको लागि ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जर सपोर्ट उपलब्ध हुनेछ ।
त्यस्तै अर्को मोडेल ‘एलईभी एक्स’ को डिजाइन क्रसओभर एसयूभी शैलीमा तयार गरिएको छ । यसअघि बजारमा रहेको एलईभी–०१ को परिष्कृत संस्करणको रूपमा एलईभी एक्स फोर ह्विल ड्राइभ सिस्टमसहित प्रस्तुत हुनेछ । यसमा अगाडि र पछाडि गरी कुल २०० किलोवाट क्षमताका मोटरहरू राखिने छन् ।
यस गाडीमा ७७ किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीप्याक राखिएको छ । एलईभी एक्स मा नयाँ डिजाइनको एसी भेन्टसहितको ड्यासबोर्ड, फ्रन्टमा हाइड्रोलिक बोनेट र अतिरिक्त स्टोरेजको सुविधा दिने ‘फ्रङ्क’ समेत दिइएको छ ।
लिप मोटरको बी–१०
नेपालमा विद्युतीय सवारीको रुचि बढ्दै गएको बेला लिप मोटरको नयाँ एसयूभी बी–१० नेपाली बजारमा भित्रिएको छ । नाइमा अटो एक्स्पो २०२५ को अवसर पारेर सार्वजनिक हुने तयारीमा रहेको यो सवारी हालै चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको कम्पनी स्रोतले जनाएको छ ।
लिप मोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले बी–१० एसयूभी नाइमा अटो शोमा पहिलोपटक सार्वजनिक गरिने जानकारी दिएको हो । कम्पनीले यस मोडेललाई नेपालको इभी बजारमा दिगो, स्टाइलिस र प्रविधिमैत्री विकल्पको रूपमा प्रस्तुत गर्ने जनाएको छ ।
गोल्छा अर्गनाइजेसनअन्तर्गत सञ्चालनमा रहेको सांग्रिला मोटर्सले यसअघि पनि फ्रेन्च ब्रान्डहरू प्यूजो (२०१७) र सिट्रोन (२०२१) का सवारीसाधन नेपाली बजारमा ल्याइसकेको छ भने २०२४ देखि चिनियाँ कम्पनी लिप मोटरका गाडी पनि आयात गर्दै आएको छ ।
कम्पनीले उपभोक्ताहरूका आवश्यकता, प्रविधिप्रति आकर्षण र वातावरणीय चासोलाई ध्यानमा राख्दै नयाँ पुस्ताको विद्युतीय एसयूभीमार्फत नेपाली बजारमा फरक अनुभूति दिने अपेक्षा राखेको जनाएको छ ।













