बिना विश्रामको उकालो यात्रामा शेयर बजार: लगानीकर्ताका लागि अवसर की जोखिमको घण्टी?

काठमाडौं । लामो समयदेखि सुस्त गतिमा चलिरहेको नेपाली शेयर बजार अहिले पुनः जोशिलो देखिन थालेको छ । पछिल्ला केही दिनयता बजारले लगातार उकालो यात्रा गरेपछि लगानीकर्ताबीच उत्साहको लहर फैलिएको छ । दैनिक रूपमा कारोबार रकममा उल्लेखनीय वृद्धि भएको छ भने नेप्से सूचक समेत उच्च बिन्दुमा पुग्दै गएको छ ।
राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बजारलाई सकारात्मक सन्देश दिएको हो । लगानीकर्ताका दीर्घकालीन मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले धितो कर्जाको सीमा बढाउनु, हकप्रद शेयरको सहजता, लघुवित्तको लाभांश वितरण नीति पुनरावलोकन गर्ने संकेत र तरलता व्यवस्थापनमा देखिएको लचिलोपनले बजारमा थप भरोसा जगाएको छ ।
शेयर बजारले अघिल्लो आठ दिनदेखि लगातार सकारात्मक संकेत दिँदै आएको छ । दैनिक कारोबार रकम २० अर्ब नाघ्ने दिन पनि देखा परेका छन् । आइतबार मात्र २१ अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो जुन विगत केही महिनाको तुलनामा उच्च हो ।
अहिलेको बजार वृद्धिमा मुख्यतः चारवटा कारक तत्व प्रभावकारी देखिएका छन् – मौद्रिक नीति, तरलता, प्रविधिमा सहजता र नयाँ आईपीओको आशा । राष्ट्र बैंकले शेयर बजारलाई अर्थतन्त्रको अभिन्न अंग मानेर त्यसलाई सबल बनाउने दिशामा सरकार गम्भीर रहेको स्पष्ट सन्देश दिएको छ। धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याउनुले ठूला लगानीकर्ताको सक्रियता अझै बढाउनेछ । यसले वित्तीय संस्थाहरूले शेयरलाई ऋणको आधारमा लिने आँट पाउने वातावरण बनाउँछ जसले बजारमा पूँजीको संचार बढाउनेछ । यससँगै बैंक तथा वित्तीय संस्थालाई हकप्रद शेयरमार्फत पूँजी वृद्धि गर्न दिने छुटले पनि बजारलाई थप गहिरो बनाउनेछ ।
त्यसैगरी, लामो समयदेखि सीमित लाभांश वितरण नीतिका कारण लगानीकर्ताको विश्वास गुमाउँदै गएको लघुवित्त क्षेत्रमा पनि नयाँ आशा देखिएको छ । राष्ट्र बैंकले यसलाई पुनरावलोकन गर्ने स्पष्ट संकेत दिएपछि साना लगानीकर्तामा उत्साह बढेको छ । लघुवित्त क्षेत्रमाथि देखिएको यो भरोसा पुनःस्थापना साना लगानीकर्ताको पक्षमा महत्वपूर्ण मानिएको छ । किनभने यस क्षेत्रमै धेरै खुद्रा लगानीकर्ता आधारित छन् र उनीहरूको नाफा–नोक्सानले बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।
तरलताको पक्षमा पनि अहिलेको अवस्था शेयर बजारमैत्री रहेको छ । बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको छ जसले कर्जाको ब्याजदर घटाएको छ । अहिले अधिकांश बैंकहरूले ८ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । यस्तो अवस्थामा लगानीकर्ताहरूको झुकाव पूँजी बजारतर्फ बढ्नु स्वाभाविक हो । ब्याजदर घट्दा निक्षेपमा पैसा राख्नुको साटो शेयर वा अन्य पुँजीगत माध्यममा लगानी गर्दा प्रतिफल बढी हुने सम्भावना देखिन्छ ।
यस बाहेक प्रविधिको पहुँचले पनि बजार विस्तारमा भूमिका खेलेको छ । अहिले शेयर कारोबार प्रणाली अनलाइनमा आधारित छ । मोबाइल, कम्प्युटर र इन्टरनेटको सहज पहुँचले गर्दा शहर मात्र होइन ग्रामीण क्षेत्रमा समेत शेयर कारोबार विस्तार भइरहेको छ । ट्रेडिङ म्यानेजमेन्ट सिस्टमको प्रयोग बढेसँगै देशभरिको जनसंख्याले शेयर कारोबारमा सहभागिता जनाउन थालेका छन् । यो परिवर्तनले बजारलाई दीर्घकालीन रूपमा गहिरो बनाउने सम्भावना बलियो देखिन्छ ।
अर्को महत्त्वपूर्ण पक्ष हो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) । हालसम्म विभिन्न कम्पनीहरूले आफ्नो आईपीओ ल्याउने तयारी गरिरहेका छन् । लामो समयदेखि सरकारी स्वामित्वमा रहेका केही संस्थानहरूको शेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी सरकारले गरिरहेको छ । यसले बजारमा विविधता ल्याउनुका साथै आम लगानीकर्तामा विश्वास बढाउनेछ । आईपीओप्रतिको आकर्षणले नयाँ लगानीकर्ता भित्र्याउँछ र बजार पूँजीकरण बढाउँछ । आगामी महिनाहरूमा उर्जा र उत्पादन क्षेत्रका कम्पनीहरूको आईपीओ आउने चर्चा पनि बजारमा चलिरहेको छ जसले शेयर बजारप्रति आशावाद बढाएको छ ।
पछिल्लो साता मात्र शेयर बजार ११२.०१ अंकले बढेको छ । कारोबार रकम पनि ९४ अर्ब रुपैयाँ पार गरेको छ । साताको पहिलो दिन ०.३२ अंकले बढेर बजार २८७०.९५ मा पुग्यो । त्यसपछि क्रमशः दोस्रो दिन २१.७६, तेस्रो दिन ८०.९७, चौथो दिन ५.१७ र अन्तिम दिन ३.७६ अंकले वृद्धि भयो । यो क्रमिक वृद्धिले बजारमा विश्वासको संकेत दिएको छ ।
कस्तो होला आगामी यात्रा ?
साताको सुरुवातमा शेयर बजारमा उत्साहजनक अवस्था देखिए पनि अन्त्यतिर आएर उतारचढाव देखिएको छ। कारोबारको प्रारम्भमा नेप्से सूचकमा तीव्र वृद्धि देखिए पनि दिनभरका विभिन्न समयमा सूचक ह्वात्तै बढ्ने र फेरि घट्ने अवस्था देखियो, जसले लगानीकर्तालाई अन्योलमा पारेको छ। यस्ता उतारचढावले विशेषगरी साना तथा अनुभवहीन लगानीकर्तालाई बढी प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्।
बजारमा यस्तो उतारचढाव देखिँदा प्रायः सीमित ठूला लगानीकर्ताहरूको चलखेल हुने गरेको बताइन्छ। उनीहरूको रणनीतिक व्यापारले बजारमा कृत्रिम वृद्धि वा गिरावट ल्याउने गरेको विश्लेषकहरूको भनाइ छ। प्रवृत्तिलाई पछ्याउँदै लगानी गर्ने सामान्य लगानीकर्ताहरू यस्ता बेला बढी प्रभावित हुने भएकाले उनीहरू जोखिममा पर्ने सम्भावना बढी देखिन्छ।
लगातारको वृद्धिपछि बजारले करेक्सन नगर्दा ठूलो गिरावट आउने जोखिम विशेषज्ञहरूले औंल्याएका छन्। हाल बजार ३००० बिन्दुको हाराहारीमा पुगेको छ भने केही विश्लेषकहरूले सूचक अझै माथि जान सक्ने सम्भावना रहेको भन्दै लगानीकर्तालाई थप आकर्षित गरिरहेका छन्। तर, जानकारहरू भन्छन्—बेलुनझै फुलेको बजारमा कुनै पनि बेला तीव्र गिरावट आउन सक्छ, जसले साना लगानीकर्ताको पूँजी डुबाउने खतरा रहन्छ।
नेप्से यसअघि पनि ३२०० अंकमा पुग्दा लगानीकर्ताको ठूलो आकर्षण देखिएको थियो। तर, त्यो बेला बजार अझ माथि पुग्ने आशामा शेयर खरिद गरेका धेरै लगानीकर्ता पछि घाटामा परे। कतिपयले ठूलो आर्थिक क्षतिको कारण मानसिक तनाव सहन नसकी आत्महत्या समेत गरेको उदाहरण नेपाली शेयर बजारमा भेटिन्छ। यसले बजारको जोखिमपूर्ण स्वरूपलाई पुष्टि गरेको छ।
बजार करेक्सनको समयमा शेयर खरिद गरेर वृद्धि हुँदा नाफा बुक गर्न सकेमा लगानी सुरक्षित रहने विश्लेषकहरूको सुझाव छ। करेक्सनको बेला लगानी गर्दा उचित मूल्यमा खरिद सम्भव हुने भएकाले भविष्यमा सहज रूपमा मुनाफा लिन सकिने अवस्था बन्ने उनीहरूको भनाइ छ। तर, जब धेरै लगानीकर्ता एकैपटक नाफा बुक गर्न थाल्छन् बजारमा अचानक ठूलो गिरावट आउन सक्ने खतरा पनि रहन्छ। करेक्सन बिना माथि उठी रहेको बजारमा अहिले सोहि जोखिम सिर्जना भएको छ ।
बजारको दीर्घकालीन स्थायित्वका लागि करेक्सन हुँदै अगाडि बढ्नु आवश्यक रहेको विश्लेषकहरू बताउँछन्। निरन्तर वृद्धि हुँदा साना लगानीकर्ता लोभमा परेर जोखिममा पर्ने सम्भावना बढी हुन्छ। बजार हावामा भरिएको बेलुनझैँ फुलेर चलेको अवस्थामा कुनै पनि बेला फाट्न सक्छ त्यसैले साना तथा ज्ञान नभएका लगानीकर्ताले सचेत भएर मात्रै लगानी गर्नुपर्ने सुझाव जानकारहरुको छ ।













