‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन् ।
विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार क्षेत्रमा क्रान्ति भएको बताए । ‘आँखा उपचारलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय आवश्यक छ’, उनले भने, ‘तर यसको स्थायित्व हुनुपर्छ । विधेयक राम्रो छ, म स्वागत गर्न चाहन्छु ।’ सांसद भट्टराईले नेत्र विशेषज्ञ डा सन्दुक रूइतले नेत्र उपचारको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
‘विश्वविद्यालय स्थापना हुँदा नेपालीलाई मात्रै दक्ष र शिक्षित बनाउने नभइ विश्वका अन्य देशका विद्यार्थी पनि अध्ययनका लागि आकर्षित हुने सम्भावना छ’, उनले भने, ‘हामीले उत्पादन गरेका लेन्सलाई कसरी प्रत्यारोपण गर्ने भन्ने विषयमा वैज्ञानिक छलफल हुनसक्छ । यो विश्वविद्यालयले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सम्भावनाको रूपमा रहनसक्छ ।’













