बुङ्गल हाइड्रोको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थपियो

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थपिएको छ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि ८ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरिरहेको छ।
यसमा आवेदन दिने अन्तिम मिति आज साउन ११ गते रहेकोमा आयोजना प्रभावित स्थानीयबाट मागभन्दा कम आवेदन परेपछि अवधि थप गरेर साउन २६ गतेसम्म कायम गरिएको हो। यता वैदेशिक रोजगारीमा रहेका नेपालीबाट भने मागभन्दा बढी आवेदन परिसकेकाले आज ५ बजेपछि निष्कासन बन्द हुनेछ।
आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये पनि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन पाउनेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ (साविक पिपलकोट गाविस वडा नम्बर ४, ५ र ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस वडा नम्बर १) का स्थानीय बासिन्दा रहेका छन्।
त्यस्तै २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दा रहेका छन्।
आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।












