एक वर्षमा कामको सिलसिलामा यूएई पुगेका ३१२ जना नेपालीको मृत्यु

११ श्रावण २०८२, आईतवार १२:४४

काठमाडौं । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका नेपाली कामदारहरूको मृत्यु संख्या डरलाग्दो रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै यूएईमा ३१२ जना नेपालीले ज्यान गुमाएका छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार औसतमा महिनामा २६ जना नेपालीको मृत्यु भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा मृत्यु दर उल्लेख्य रूपमा बढेको देखिन्छ । त्यो वर्ष यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए, जसअनुसार महिनाको औसत मृत्यु संख्या १९.२५ थियो ।

दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, वैशाखमा ३५, जेठमा २० र असार महिनामा ३१ जना नेपालीले ज्यान गुमाएका छन् ।

तीमध्ये सबैभन्दा बढी कात्तिक र वैशाख महिनामा ३५–३५ जनाको मृत्यु भएको हो भने पुस महिनामा सबैभन्दा कम १३ जनाको ज्यान गएको हो ।

दूतावासका अनुसार नेपालीहरूको मृत्युका प्रमुख कारणहरूमा कार्यस्थलमा भएका दुर्घटना, सडक दुर्घटना, हृदयघात, मुटुजन्य समस्या तथा अन्य दीर्घरोग रहेका छन् । अत्यधिक गर्मी, मानसिक तनाव, अव्यवस्थित कामका समय र समयमा स्वास्थ्य उपचार नपाउनु पनि थप जोखिमको कारण बन्ने गरेको बताइएको छ ।

यूएईमा विशेषगरी निर्माण, सुरक्षा तथा सेवा क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरू जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य छन् । सुरक्षा सामग्रीको अभाव, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था नहुनु उनीहरूको जीवनमा थप जोखिम थप्ने कारकहरू हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*