चितवनको विद्युत अवरोध लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो: प्राधिकरण

११ श्रावण २०८२, आईतवार १५:४८

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोडसेडिङ अब नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता अफवाहमा नपर्न आम उपभोक्तालाई आग्रहसमेत गरिएको छ ।

प्राधिकरणका अनुसार चनौली ३३/११ केभी (बसेनी) सबस्टेसनबाट न्यू भरतपुरतर्फ जाने ३३ केभी लाइनमा अत्यधिक लोड बढेका कारण विद्युत आपूर्तिमा समस्या आएको हो । वर्षायाममा अपेक्षित मात्रामा वर्षा नहुँदा आँधीखोलाको सिँचाइ लोड समेत उच्च बनेपछि प्रणालीमा थप चाप परेको विज्ञप्तिमा उल्लेख छ । समस्या व्यवस्थापनका लागि ट्रान्सफर्मर फेर्नुका साथै लोड व्यवस्थापन आवश्यक भएकाले केही समय विद्युत आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको जनाइएको छ ।

तर उक्त तालिकालाई ‘लोडसेडिङ तालिका’ भन्दै प्रचार गर्नु सरासर भ्रामक रहेको प्राधिकरणको भनाइ छ । सार्वजनिक सूचनामा भनिएको छ, ‘खडेरीका कारण अत्यधिक सिँचाइ लोड व्यवस्थापन गर्न लाइन तथा ट्रान्सफर्मरको अदल–बदल गर्नुपर्ने भएकाले लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको हो । यसलाई लोडसेडिङ भन्नु तथ्यहीन र अन्यायपूर्ण छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*