नियमविपरीत वाई-फाई हटस्पट सञ्चालनमा अब कारबाही, प्राधिकरणको कडा चेतावनी

११ श्रावण २०८२, आईतवार १६:११

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीविपरीत सञ्चालन भइरहेको वाई-फाई हटस्पट सेवा सम्बन्धमा कडाइ गर्ने भएको छ। आइतबार सूचना जारी गर्दै प्राधिकरणले वाई-फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधान विपरीत सेवा सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको हो।

प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकले मात्र वाई-फाईमार्फत सिमलेस कनेक्टिभिटी, रोमिङ वा मोबिलिटी सेवा प्रदान गर्न सक्ने व्यवस्था छ। तर पछिल्लो समय धेरै सेवा प्रदायकहरूले अनुमति नलिई तथा तय गरिएका शर्तहरूको उल्लंघन गर्दै वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दै आएको प्राधिकरणको ठहर छ।

सूचनामार्फत प्राधिकरणले वाई-फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट तोकिएको ‘रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८०’ अन्तर्गत दफा ७.४ र अनुसूची ४ मा उल्लेख गरिएका शर्तहरूको अनिवार्य पालना गर्न निर्देशन दिएको छ। ती शर्तहरूमा पावर लिमिट, ब्याकहल/ब्याकबोन रेस्ट्रिक्सनजस्ता प्रावधान प्रमुख रूपमा उल्लेख छन्।

त्यस्तै, वाई-फाई हटस्पट सेवाका लागि प्रयोग गरिने रेडियो उपकरण प्राधिकरणबाट टाइप-एप्रुभल भएको हुनुपर्ने र अन्य उपकरण प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*