उपदान तथा पेन्सन कोषको १ अर्ब मुद्दती निक्षेपमा राख्ने राष्ट्र बैंकको तयारी, बैंकहरूलाई खुला आह्वान

११ श्रावण २०८२, आईतवार १७:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने प्रक्रिया सुरु गरेको छ। आइतबार केन्द्रीय बैंकले सूचना जारी गर्दै सो रकम एक वर्ष अवधिका लागि निक्षेप गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर प्रस्ताव माग गरेको हो।

राष्ट्र बैंकको योजनाअनुसार कुल १ अर्ब रुपैयाँमध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा तथा बाँकी ५ करोड रुपैयाँ राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरूमा मुद्दती निक्षेप राखिनेछ।

केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई साउन १४ गते (मंगलबार) कार्यालय समयभित्र ब्याजदरको प्रस्तावसहित आवेदन पेश गर्न निर्देशन दिएको छ। प्रस्ताव गरिएको ब्याजदर त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ।

निक्षेप लिन चाहने संस्थाहरूका लागि राष्ट्र बैंकले केही योग्यतासम्बन्धी सर्तहरू तोकेको छ। ती सर्तअनुसार संस्थाले कम्तीमा २ वर्षको सञ्चालन अवधि पूरा गरिसकेको हुनुपर्नेछ। त्यस्तै, न्यूनतम पूँजीकोष तोकिएको सीमा भित्र हुनुपर्ने, कुल खराब कर्जा ८ प्रतिशतभन्दा कम र खुद खराब कर्जा (नेट एनपीए) ३ प्रतिशतभन्दा कम हुनुपर्ने प्रावधान राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*