क्लोजिङ एभरेजिङमा त्रुटि: नेप्सेले तीनपटक सच्याएर अन्ततः ७.१० अंकले देखायो वृद्धि

१२ श्रावण २०८२, सोमबार १८:१७

काठमाडौँ । शेयर बजारमा सोमबार दिनभर देखिएको उतारचढावपछि नेप्से परिसूचक १२ अंकले बढेर बन्द भएको देखिएको थियो। तर अन्तिम १५ मिनेटको औसत मूल्यमा आधारित क्लोजिङ एभरेजिङ गर्दा भने बजार २.०७ अंकले घटेको देखाइएको थियो।

साँझ बजार बन्द भएपछिको तथ्यांकले नेप्से परिसूचकमा आएको गिरावट देखाएपछि लगानीकर्ता माझ चासो मात्र होइन, आक्रोशसमेत देखियो। दोहोरो अंकले बढेको बजार क्लोजिङ एभरेजिङका कारण घटेर देखिनु अनुचित रहेको भन्दै लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेतृत्वमाथि प्रश्न उठाए। कतिपय लगानीकर्ताले त नेप्सेले नियोजित रुपमा बजार घटाउने प्रयास गरिरहेको आरोपसमेत लगाएका छन्।

बजार बन्द भएको दुई घण्टापछि नेप्सेले फेरि परिसूचक परिमार्जन गरी अन्ततः बजार ७.१० अंकले बढेको जानकारी सार्वजनिक गरेको हो। यसअघि नेप्सेले २.०७ अंकले घटेको देखाएको थियो, जुन लगानीकर्ता समुदायले विश्वास गर्न सकेनन्।

लगातार तीनपटक परिसूचक समायोजन गर्न बाध्य भएको नेप्सेले चौतर्फी दबाबपछि अन्ततः परिसूचक गणनामा त्रुटि भएको स्वीकार्दै त्यसको अध्ययन गरेको जानकारी दिएको छ। नेप्सेका अनुसार अध्ययनपछि त्रुटि सच्याएर परिसूचक ७.१० अंकले बढाइएको हो।

नेप्सेले क्लोजिङ एभरेजिङका लागि प्रयोग गर्ने विधि र गणनाको आधार स्पष्ट नगर्दा यस्तो विवाद उत्पन्न भएको हो। यस घटनाले बजार सञ्चालन निकायप्रतिको विश्वासमा आँच आएको छ भने भविष्यमा पारदर्शिता अभिवृद्धि गर्नुपर्ने माग पनि उठेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*