नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीलाई व्यवस्थापन तहबाटै धोका, सम्झौता कार्यान्वयन नभएपछि चर्कियो आन्दोलन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी देशव्यापी रूपमा आन्दोलित बनेका छन् । यसअघि गत असोज २० गते भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएपछि कम्पनीको देशभरका कर्मचारी आन्दोलित बनेका हुन् ।
नेरुडे मिर्मिरे लघुवित्तको कर्मचारी संगठनले व्यवस्थापन तहले सम्झौता कार्यन्वयन गर्नुको सट्टा उल्टै सम्झौता र सहमतिपत्रको धज्जी उड्ने गरी एकतर्फी रूपमा आफूखुशी कर्मचारीको भावना विपरीत कार्य गरेको भन्दै खेद प्रकट गरेको छ । संस्थाका सीईओसहितको व्यवस्थापनले सम्झौता लागू गर्नुको सट्टा उल्टै कर्मचारीको धैर्यता, संयमता तथा कर्मचारीको भावनासँग खेलवाड गरेको आरोप लगाएको हो।
संस्थाका आन्दोलित एक कर्मचारीले बीमापोष्टसँग भने, ‘त्यो सीईओको कार्यकाल सकिन धेरै समय छैन । हामीले पटक–पटक सम्झौता कार्यान्वयनको लागि हारगुहार गर्दा पनि सञ्चालक समिति र व्यवस्थापनले बेवास्ता गदै आएको छ । अब यो सीईओले पनि एक–दुई दिनमा गर्छाैं भन्दै यसैगरी घर जान्छ ।’
आन्दोलित कर्मचारीले आज बिहानदेखि नै पेन डाउन गरी विरोध जनाइरहेका छन् । जसले गर्दा देशभर छरिएर रहेका सयौं शाखा कार्यालयका सेवाग्राही समस्यामा परेका छन् । कर्मचारी र व्यवस्थापनको आपसी द्वन्दले सेवाग्राही मर्कामा परेका हुन् ।

सम्झौता कार्यान्वयन गर्न दवाव दिन धर्ना दिदै आन्दोति कर्मचारी
तत्कालीन नेरुडे र मिर्मिरे लघुवित्त मर्ज भई बनेको नेरुडे मिर्मिरे लघुवित्तमा विगत एक वर्षदेखि कर्मचारीको आन्दोलन जारी नै छ । ‘कहिले कुनै पक्ष त कहिले कुनै पक्षले आन्दोलनका कार्यक्रम अघि बढाउँदै आएका छन् । तर व्यवस्थापन र सञ्चालक समितिले चाँहि वास्ता नै नगरी कानमा तेल हालेर बसिराखेका छन् । उनीहरुलाई हाम्रो वास्ता नै छैन ।’ नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने ।
कर्मचारी संगठनले पटक–पटक सम्झौता कार्यान्वयनको लागि विभिन्न तरीकाबाट पहल गरिराख्दा पनि व्यवस्थापन समुहले बेवास्ता गर्दै आएको छ । गत वर्षमा गरिएको सम्झौता शीघ्र कार्यान्वयनको माग गर्दै कर्मचारी संगठनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मनिकुमार अर्याल अध्यक्ष रहेको यस संस्थामा विगत एक वर्षदेखि कर्मचारी आन्दोलित छन् । कर्मचारीलाई विभिन्न प्रलोभन देखाएर गत वर्ष गरिएको सम्झौता कार्यान्वयनमा सीईओ बस्याल र अध्यक्ष अर्यालले कुनै पनि चासो नदेखाएको पाइएको छ ।
नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनले लामो समयदेखि बढुवा नभएका कर्मचारीको बढुवा गर्नुपर्ने, लामो समयदेखि का.मु पदमा भएका कर्मचारीलाई सोही पदमा बढुवा गर्नुपर्ने, कर्मचारी कल्याणकारी कोषलाई निरन्तरता दिनुपर्ने, सम्पूर्ण कर्मचारीहरुको आधार तलव पाँच हजारका दरले वृद्धि गर्नुपर्ने, विभिन्न विभागबाट भएको भेदभावलाई अन्त्य गर्नुपर्ने लगायतका मागसहित आन्दोलित छन् ।

आन्दोलित कर्मचारीले शाखा कार्यालयमा ताला लगाएर पेन डाउन गर्दै
संगठनले हाल भइरहेको केन्द्रीय कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रमलाई निरन्तरता दिने, आज सम्पूर्ण कर्मचारीले पेन डाउन गरी विरोध जनाउने, भोलि साउन १५ गते कालोपट्टी बाँधेर विरोध जनाउने र साउन १६ गतेदेखि सम्पूर्ण कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यसूची बनाएको छ।
आन्दोलित कर्मचारीको समस्याबारे बुझ्न खोज्दा नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले आन्दोलनबारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । कर्मचारीको प्रमुख पदमा रही कार्य गरिरहेका सीईओ बस्यालले उल्टै आन्दोलित कर्मचारीको समस्यालाई बेवास्ता गर्दै आएका छन् । उनले बीमापोष्टसँग दिएको प्रतिक्रिया अनुसार आन्दोलित कर्मचारीको समस्या समाधानमा उनले खासै चासो नदेखाएको प्रष्ट भएको छ ।














