रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!

१४ श्रावण २०८२, बुधबार १४:३६

काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

रूसी आपतकालीन मन्त्रालयका अनुसार साखालिन क्षेत्रमा पर्ने सिभेरो–कुरिल्स्क नामक सहरमा पाँच मिटर (१६.४ फिट) उचाइका छाल पुगेका छन्। पानी सहरभित्र पस्दा दुई हजार भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। उत्तर कुरिल जिल्लाभरि आपतकालीन अवस्था घोषणा गरिएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवा र सुनामी चेतावनी केन्द्रका अनुसार हवाई, अलास्का, क्यालिफोर्निया, वासिङ्टन, ओरेगन, चिली, पेरू, कोस्टारिका, इक्वेडर, जापान, फिलिपिन्स र प्यासिफिक टापुहरूमा एकदेखि तीन मिटर (३.३–९.८ फिट) उचाइका छाल आउनसक्ने चेतावनी दिइएको छ।

हवाईको ढुवानी विभागले होनोलुलुस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान स्थगित गरेको छ। मानिसहरू सुरक्षित स्थानतर्फ भागिरहेका दृश्य सामाजिक सञ्जालमा देखिएका छन्। हवाई राज्यका लागि ‘टेक एक्सन! डेस्ट्रक्टिभ सुनामी वेभ्स एक्सपेक्टेड’ भन्ने चेतावनी जारी गरिएको थियो। केही समयमै पहिलो छाल पनि पुगेको पुष्टि भएको छ।

जापानमा पनि उच्च सतर्कता जारी गरिएको छ। जापानी अधिकारीहरूले तटीय क्षेत्र वा नदी किनारमा रहेका मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्। होक्काइडो टापुमा पहिलो छाल ३० सेन्टिमिटर उचाइको आएको जनाइएको छ। जापानको होन्शु टापुको प्यासिफिक तटीय क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। करिब १९ लाख मानिसलाई सुरक्षित स्थानतर्फ जान सूचित गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, ताइवान, मलेसिया लगायतका देशहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्र रसियाको पेट्रोपाभ्लोभ्स्क–कामचात्स्की सहरबाट १३६ किलोमिटर पूर्वतर्फ रहेको हो। यस क्षेत्र विगत दशकको सबैभन्दा शक्तिशाली भूकम्प प्रभावित क्षेत्रका रूपमा चिनिएको छ।

भूकम्पपछि ६.९ र ६.३ म्याग्निच्युडका दुई परकम्प पनि महसुस गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ। सुनामी विशेषज्ञहरूका अनुसार यति ठूलो भूकम्पबाट उत्पन्न तीन मिटरभन्दा अग्ला छालहरू निकै विनाशकारी हुनसक्छन्। भर्जिनिया टेक विश्वविद्यालयका रोबर्ट वाइसका अनुसार, ‘तीन मिटरको छालले तटीय संरचना र सम्पत्तिमा गम्भीर क्षति पुर्‍याउने सम्भावना हुन्छ।’

यस घटनाले बीमा क्षेत्रलाई पनि नराम्ररी प्रभावित गर्ने देखिएको छ। घर, सवारीसाधन, अफिस, अपार्टमेन्ट, उद्योगधन्दा लगायत बीमित सम्पत्तिहरूमा अर्बौं डलर बराबरको दाबी पर्नसक्ने बीमा विश्लेषकहरूको अनुमान छ। अमेरिकाको हवाई, जापानको होक्काइडो, रसियाको साखालिन र अन्य प्रशान्त क्षेत्रका मुलुकहरूमा व्यापक बीमा दाबी हुने निश्चित देखिएको छ।

बीमा क्षेत्रमा पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीहरूको भूमिकासमेत चापमा परेको छ। लण्डनको ललायड्स, स्विस रे, म्युनिक रे जस्ता विश्वका प्रमुख पुनर्बीमा कम्पनीहरू उच्च सतर्कतामा छन्। प्रारम्भिक अनुमानअनुसार अमेरिकामा मात्र १० अर्ब डलर बराबरको बीमा दाबी आउनसक्ने छ।

जापानको सन् २०११ को तोहोकु सुनामीले २३० अर्ब डलर बराबरको क्षति पुर्‍याएको थियो। यसपटक पनि त्यस्तै स्तरको क्षति हुनसक्ने अनुमान गरिएको छ। विशेषतः तटीय औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र र आवासीय भवनहरूमा व्यापक असर पर्नेछ।

यद्यपि, समयमै चेतावनी जारी गरिएको र सरकारी संयन्त्रहरू सक्रिय भएकाले मानविय क्षति न्यून हुने अपेक्षा गरिएको छ। तर भौतिक क्षति भने अत्यधिक हुने निश्चित देखिएको छ।

उद्धार र स्थानान्तरणको कार्य तीव्र पारिएको छ। जापान, अमेरिका र रसियामा आपतकालीन टोलीहरू खटिएका छन्। स्थानान्तरण, उद्धार र राहतका लागि सशस्त्र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरू परिचालित छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*