२८,५०० मेगावाटको लक्ष्यसहित पावर समिट २०२५ असोज २९-३० मा

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गर्दै आएको ऊर्जा क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन ‘पावर समिट २०२५’ को मिति परिवर्तन गरिएको जानकारी गराइएको छ। यसअघि तय गरिएको असोज १ र २ गतेको कार्यक्रम अब असोज २९ र ३० गते (सन् २०२५ अक्टोबर १५ र १६) सोल्टी होटलमा हुने गरी सारिएको हो।
पूर्वनिर्धारित मितिमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको भारत भ्रमण तय भएको र सो भ्रमणमा इप्पानका पदाधिकारीहरुको समेत सहभागीता हुने भएकाले पावर समिटको मिति सार्नुपरेको इप्पानले जानकारी गराएको छ।
सन् २००६ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौं संस्करण हो, जसको मूल नारा ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ तय गरिएको छ। समिटको मिति परिवर्तन हुँदा सेवाग्राही तथा सहभागीहरूमा पर्न गएको असुविधाप्रति इप्पानले क्षमायाचना गर्दै नयाँ मितिमा पनि कार्यक्रम भव्य र प्रभावकारी रुपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको साथ र सहयोग अपेक्षा गरिएको जनाएको छ।
सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र २०८१ अन्तर्गत सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन पुर्याउने लक्ष्यलाई मूर्तरूप दिन तथा नेपालको बढ्दो विद्युत उत्पादनलाई क्षेत्रीय बजारमा प्रवाह गर्न सहयोग पुर्याउने उद्देश्यले पावर समिटको नवौं संस्करण आयोजना गरिएको हो।
समिटमा ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारी, सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता संस्था, निर्माण कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत विभिन्न क्षेत्रका विज्ञ, विश्लेषक, नीति निर्माता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
यस समिटमार्फत नेपालको हरित ऊर्जालाई नेपालको समृद्धिको वाहक मात्र होइन, सम्पूर्ण एशियाको आर्थिक विकासको पूर्वाधारका रूपमा स्थापित गर्ने सोचका साथ आन्तरिक तथा बाह्य रणनीतिहरूका विषयमा गहिरो नीतिगत बहस गरिने इप्पानले जनाएको छ।













