आइपीओ निष्कासनसँगै व्यापारिक धक्का: एनआईसी एशिया बैंकले ट्रेड टावर छाड्यो

काठमाडौं । नेपालको एक अग्रणी वाणिज्य बैंक एनआईसी एशिया बैंकले आफ्नो केन्द्रीय कार्यालय थापाथलीस्थित ट्रेड टावरबाट सारेर कमलादीमा स्थानान्तरण गरेको छ। बैंकले बैशाख महिनामै कार्यालय सारिसकेको हो। टावरले आइपीओ निष्कासन गरेर दोस्रो बजारमा शेयर कारोबार सुरु हुनु अघि नै बैंकले कार्यालय अन्यत्र सार्ने निर्णय लिएको देखिन्छ।
एनआईसी एशिया जस्तो ठूलो बैंकको बाहिरिने निर्णयले ट्रेड टावरको व्यापार र साखमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। लामो समयदेखि टावरको स्थायीत्वमा विश्वास गर्दै कारोबार गर्दै आएका अन्य संस्थाहरूमा समेत अब अन्योल बढ्ने सम्भावना देखिन्छ। बैंकले टावर छोड्नुलाई धेरैले ‘विश्वासको ह्रास’का रूपमा समेत हेर्न थालेका छन्।
ट्रेड टावर सञ्चालन गर्दै आएको कम्पनी २००७ मा स्थापना भए पनि २०११ सालदेखि मात्र थापाथलीस्थित भवनको व्यावसायिक सञ्चालनमा आएको थियो। कम्पनीले भवन भाडामा लगाउने, वित्तीय सेवा प्रदान गर्ने र पूर्वाधार निर्माणमा संलग्न रहने योजना लिएको भए पनि पछिल्लो समयमा यसको कार्यक्षमता र रणनीतिक सोचप्रति प्रश्न उठ्न थालेका छन्।
कम्पनीले हालै आफ्ना शेयरहरू सर्वसाधारणका लागि सार्वजनिक गरी दोस्रो बजारमा कारोबार सुरु गरेको छ। शेयरको मूल्य अहिले प्रतिकित्ता ९४८.९० रुपैयाँसम्म पुगेको छ ।
टावर कम्पनीले सञ्चालनमा ल्याएको अर्को परियोजना—गौशालास्थित होटल क्रिस्टल पशुपति पनि अपूर्ण र असफल प्रयासझैं देखिएको छ। होटलमा ९० कोठा मध्ये हाल ४९ कोठा मात्रै सञ्चालनमा छन्। बाँकी कोठाहरू लामो समयसम्म खाली छन् भने पर्यटन क्षेत्रको सुधारमा समेत कम्पनीले योगदान दिन सकेको छैन। यो प्रोजेक्टले खर्च मात्र बढाएको र आम्दानीमा खासै योगदान नदिएको विश्लेषण गरिएको छ।
बजारमा आइपीओमार्फत आएको भए पनि कम्पनीले लामो समयसम्म शेयरधनीहरूको विश्वास कायम गर्न सक्ने संकेत देखिएको छैन। ठूला ग्राहकहरू हट्दै जाँदा, कम्पनीले आफ्नो भौतिक पूर्वाधार बाहेक दिगो व्यापारिक रणनीति निर्माण गर्न नसकेको तथ्य उजागर भएको छ।












