चुक्ता पुँजी पुर्याउन शतप्रतिशत हकप्रद जारी गर्ने नेपाल पुनर्बीमाको निर्णय

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिई यस समबन्धि प्रस्ताव आगामी साधारणसभा पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि २०८२ माघ मसान्त सम्मको समय दिएको छ ।
बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन कम्पनीको चुक्ता पूँजी २६ अर्ब भन्दा बढी कायम गर्नु पर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने र त्यस प्रयोजनकोलागि कम्पनी ऐन २०६३ को दफा ५६ (१) र दफा ८३ (क) अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरिएको कम्पनीले उल्लेख गरेको छ।
Nepal Re












