वर्षदिनमा २.०२ प्रतिशतले घट्यो वाणिज्य बैंकको आधार दर, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर ओरालो लागि रहेको देखिएको हो ।
पछिल्लो १ वर्षमा हाल २० वटै वाणिज्य बैंकहरुको औसत आधार दर २.०२ प्रतिशत विन्दुले घटेको छ । तरलता प्रशस्त भएको परिस्थिति र घट्दो कर्जाको मागको प्रभावस्वरूप बैंकहरूले निक्षेपमा दिइने ब्याजदर कटौती गर्दै आएका छन्, जसले आधार दरमा समेत प्रत्यक्ष असर परेको हो ।
चालु आर्थिक वर्षको साउनमा बैंकहरुको औसत बेस रेट ६.११ प्रतिशत बिन्दुमा झरेको छ । गत आर्थिक वर्षको साउन महिनामा भने ८.१३ प्रतिशत रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम आधार दर कायम गरेको छ, जुन ४.८९ प्रतिशतमा झरेको छ ।
यता, स्टान्डर्ड चार्टर्ड बैंकको ४.९० प्रतिशत, एभरेष्ट बैंकको ५.३५ प्रतिशत, नेपाल बैंकको ५.७६ प्रतिशत र ग्लोबल आइएमई बैंकको ५.७६ प्रतिशत रहेको छ ।
यद्यपि, सबै बैंकको ब्याजदर एउटै नहुने भएकाले ग्राहकहरूले प्रिमियम दरको गणनामा ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि कुनै बैंकको आधार दर कम भए पनि यदि प्रिमियम उच्च थपिएको छ भने कुल ब्याजदर अन्य बैंकभन्दा महँगो हुन सक्छ । बैंकहरूले कर्जाको प्रकारअनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज निर्धारण गर्छन् ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.७८ प्रतिशत, नबिल बैंकको ५.८३ प्रतिशत, कृषि विकास बैंकको ६.०३ प्रतिशत, सानिमा बैंकको ६.१५ प्रतिशत, एनएमबि बैंकको ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंकको ६.२९ प्रतिशत, माछापुच्छरे बैंकको ६.३० प्रतिशत, सिद्धार्थ बैंकको ६.३५ प्रतिशत, सिटिजन बैंकको ६.३५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ६.५२ प्रतिशत आधार दर रहेको छ ।

समिक्षा अवधिमा सबैभन्दा उच्च आधार दर रहनेमा हिमालयन बैंकको ६.५७ प्रतिशत, कुमारी बैंकको ६.६२ प्रतिशत, प्राइम बैंकको ६.६२ प्रतिशत, प्रभु बैंकको ६.६६ प्रतिशत र एनआईसी एशिया बैंकको ७.१७ प्रतिशत रहेको छ ।













