अग्रवाल रिहासँगै सम्बन्धीत कम्पनीमा बुम-बुम

१५ श्रावण २०८२, बिहीबार १५:२३

काठमाडौँ  । ठगी र विश्वासघातको आरोपमा १० दिन हिरासतमा रहेका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएलगत्तै उनीसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय सुधार देखिएको छ।

साउन ५ गते प्रहरीद्वारा पक्राउ परेका अग्रवाललाई साउन १४ गते जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। उनी रिहा भएसँगैको पहिलो कारोबार दिन अर्थात् साउन १५ गते बजार खुलेसँगै अग्रवालसँग प्रत्यक्ष सम्बन्ध रहेका कम्पनीहरूको शेयर मूल्यमा एकाएक वृद्धि भएको हो।

नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा कारोबारको अधिकतम सिमा अर्थात् सर्किट लेभलसम्म मूल्य बढेको छ। साथै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८६ प्रतिशत र सिन्धु विकास बैंकको ६.७४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

शेयर बजारमा अग्रवाल ‘गेम चेन्जर’को छविमा चिनिन्छन्। उच्च मात्रामा खरिद-बिक्री, कम मूल्यमा खरिद गरेर चाप सिर्जना गरी मूल्य बढाउने रणनीति र साना वित्तीय संस्थामा आफ्नो प्रभाव जमाउँदै लगानीकर्ताको ध्यान आकर्षण गर्ने शैलीमार्फत अग्रवालले बजारमा खास पहिचान बनाएका छन्। यही कारण, अग्रवाल पक्राउ परेपछि यी कम्पनीका शेयर मूल्यमा तीव्र गिरावट आएको थियो।

तर, उनको रिहाइलाई लगानीकर्ताहरूले सकारात्मक सङ्केतका रूपमा बुझेको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*