बीमा प्राधिकरणसहित सार्वजनिक संस्थानका कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गरिने

काठमाडौं । सार्वजनिक संस्थानका कर्मचारीहरुलाई उपलब्ध गराइने तलव तथा सेवासुविधामा एकरुपता कायम गरिने भएको छ । सरकारले सञ्चालन गरिरहेका नियामक निकाय नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका सार्वजनिक संस्थानका कर्मचारीहरुलाई एकै किसिमको सेवा सुविधा उपलब्ध गराइने भएको हो ।
सरकारले यससम्बन्धमा सुझाव बुझाउन पूर्वउपमहालेखापरिक्षक राम प्रसाद डोटेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलमा रामप्रसाद शिवाकोटी र चण्डीप्रसाद धिमिरे सदस्य रहेका छन् ।
राज्यकोषबाट सञ्चालन भएका विभिन्न संस्थानहरुमा कार्यरत कर्मचारीहरुमा निकै भिन्नता देखिन्छ । सरकारी स्वामित्वका रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुको सेवा सुविधा नियमक निकाय बीमा प्राधिकरणका कर्मचारीहरुको भन्दा पनि बढी रहेको छ । प्राधिकरणका कर्मचारीहरु भन्दा पनि कम्पनीका कर्मचारीहरुले बढी सेवा सुविधा लिने गरेका छन् ।
सरकारको यो निर्णयले सार्वजनिक संस्थानहरुको कार्य क्षमता तथा नियामकीय कर्मचारीहरुको समेत कार्य सम्पादनमा समानता आउने अपेक्षा गरिएको छ । नेपालको सन्दर्भमा सार्वजनिक संस्थानका कर्मचारीहरुले पनि आफु कार्यरत संस्थानको पदमा पाएका सेवा सुविधा फरक भएका कारणले अरु संस्थानको सोही पदको लागी समेत प्रतिस्पर्धा गर्ने गरेका छन् ।
नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण र धितोपत्र बोर्डका कर्मचारीहरुको सेवा सुविधाहरुमा निकै भिन्नता पाइएको छ । सोही कारणले प्राधिकरण र बोर्डमा कार्यरत रहेका कर्मचारीहरु पनि राष्ट्र बैंकमा जान निकै प्रयत्न गर्ने गर्दछन् ।













