भृकुटीमण्डपमा सुरु भयो ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, ५० भन्दा बढी स्टल

१३ भाद्र २०८२, शुक्रबार ११:०३

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार प्रदर्शनीको उद्घाटन गर्दै विभिन्न स्टलहरूको अवलोकनसमेत गरेका छन्।

मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिले संयुक्त रुपमा आयोजना गरेको यो नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण हो। नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघ सहआयोजकका रूपमा रहेका यस प्रदर्शनी आइतबारसम्म चल्नेछ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका करिब ५० भन्दा बढी स्टल रहेका छन्। सहभागी कम्पनीहरूले ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ, तार, केबल, कन्डक्टर, अत्याधुनिक स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरायसी विद्युतीय सामग्री, चार्जिङ स्टेशन, ब्याट्री तथा कार्यालय प्रयोजनका उपकरण प्रदर्शनीमा राखेका छन्।

आयोजकले प्रदर्शनीले मुलुकमा बढ्दो जलविद्युत उत्पादनको खपतमा वृद्धि गर्दै ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, व्यापार प्रवद्र्धन तथा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायीबीच सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ। चाडपर्वलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा ग्राहकले विभिन्न ब्राण्डका नयाँ इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस सामग्री एकै स्थानमा अवलोकन र खरिद गर्न सक्नेछन्।

विद्युतीय उपकरण प्रवद्र्धन, गुणस्तरीय सामग्रीको पहुँच विस्तार, वैकल्पिक ऊर्जा र सूचना प्रविधि क्षेत्रमा भएका नयाँ उपलब्धि आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजना भएको यस प्रदर्शनीले विद्युत् क्षेत्रका उद्यमी तथा उपभोक्ताबीच पुलको काम गर्ने आयोजकको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*