९० देशमाथि अमेरिकी भन्सार आक्रमण, ट्रम्पको नयाँ शुल्क रणनीतिले विश्व बजार तरंगित

१६ श्रावण २०८२, शुक्रबार १२:३६

काठमाडौँ ।  अमेरिकाले विश्वभरका ९० भन्दा बढी देशहरूमाथि एकैचोटि नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथिको आयात शुल्क ३५ प्रतिशतमा पुर्‍याउँदै यस अभियानको सुरुआत गरेका छन्। क्यानडामाथि नयाँ शुल्क आज बिहान ४:०० जीएमटीबाट लागू भइसकेको छ भने अन्य मुलुकहरूमा भने आगामी अगस्ट ७ देखि लागू हुने बताइएको छ।

हाल क्यानडा, अमेरिका र मेक्सिकोबीचको व्यापार सम्झौताका कारण धेरैजसो सामग्रीहरू भन्सार छुटमा परे पनि शुल्क वृद्धिको नतिजा प्रत्यक्ष रूपमा केही वस्तुहरूमा पर्नेछ। सबैभन्दा उच्च शुल्क भने ब्राजिलले बेहोरिरहेको छ जहाँ ५० प्रतिशत भन्सार शुल्क तोकिएको छ।

नयाँ कर नीति अनुसार नेपाललाई १० प्रतिशत लगाइएको छ भने छिमेकी राष्ट्र भारतलाई २५ र पाकिस्थानलाई १९ प्रतिशत कर लगाइएको छ ।

एशिया व्यापार सम्वाददाता सुरञ्जना तिवारीका अनुसार यो कदममा चीन ‘सबैभन्दा ठूलो अनिश्चितता’ बनेर देखिएको छ। चीनसँगको वार्ता अझै टुंगिएको छैन र तिनीहरूलाई वार्ता गर्नको लागि अगस्ट १२ सम्मको समय दिइएको छ।

यसैबीच, ट्रान्सशिपमेन्ट (कुनै देशमार्फत् अर्को देशमा पठाइने सामान) मा समेत ४० प्रतिशत अतिरिक्त शुल्क लगाइने निर्णय गरिएको छ। अर्थात्, कुनै वस्तु तेस्रो देशमार्फत् अमेरिका ल्याइएमा त्यसमा थप शुल्क लाग्नेछ।

धेरै मुलुकका लागि यो निर्णय निराशाजनक भए पनि केहीका लागि भने राहतको खबर बनिएको छ। ट्रम्पले सार्वजनिक गरेको नयाँ शुल्क सूचीमा समावेश भएका वस्तुहरूको विस्तृत विवरण आउन बाँकी भए तापनि, यसले केही देशलाई अस्थायी राहत दिएको जनाइएको छ।

यद्यपि वर्षको सुरुआतमा ट्रम्पले घोषणा गरेका आक्रामक भन्सार नीतिहरूको तुलनामा अहिलेको नीति केही कम कठोर देखिएको विश्लेषकहरू बताउँछन्। अधिकांश अमेरिकी आयातमा पहिले नै सम्झौता र भन्सार पत्रमार्फत शुल्क तय भइसकेकाले विश्व बजारमा देखिएको अनिश्चितता केही हदसम्म कम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*