कोहि आत्तिनु र डराउनु पर्दैन पुँजी बजारको अबको यात्रा बुल नै होः तुलसीराम ढकाल {अन्तवार्ता}

काठमाडौँ । लामो समयदेखि २५ सयदेखि २८ सयसम्म रोमलिरहेको नेप्से परिसूचक पछिल्लो समय सुधार तिर लम्कि रहेको छ । चालु मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको उदार दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि लचिलो व्यवस्था र लगानीकर्ताको माग सम्बोधनले बजारमा सकारात्मक सन्देश दिएको छ । सोही कारण पनि लगानीकर्ता हौसिएका छन् ।
शेयर बजार सुधार तिर लैजान बल पुर्याउने अधिकांश सूचक सकारात्मक नै रहेको छ । नियामक निकाय समेत शेयर बजारलाई लिएर नरम भइरहेको र सरकार समेत सकारात्मक रहेको बेला अबको गन्तब्य कस्तो होला ?
वर्तमान बजारको मूल्याङ्कन, लगानीकर्ताको धारणा, नियामक निकायप्रतिको अपेक्षा तथा आगामी दिनमा पुँजी बजारको गति र सुधारका विषयमा छलफल आधारित रहि बीमापोष्टका संवाददाता दिपक विष्टले नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको कुराकानी अंशः
पछिल्लो समय शेयर बजारको गतिविधिलाई कसरी लिइरहनु भएको छ ?
पुँजी बजार २०५० सालदेखि नियमित रुपले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत कारोबार हुँदै आएको छ । विभिन्न चरणमा उतारचढाव भइरहन्छ । त्यसमा राजनीतिदेखि आर्थिक गतिविधिलगायत विभिन्न कुराले प्रभाव पारेको हुन्छ । पछिल्लो समयको बजार हेर्ने हो भने कोभिडको बेलामा पुँजी बजारमा आम लगानीकर्ता घरमा बस्ने अवस्था रह्यो । सबै कामहरु थप्प भयो । ब्यवसायी, उद्योगी र घरणीहरु पुँजी बजारमा आवद्ध भए । जुनबेला बजार ३२ सय विन्दुमा समेत पुगेको थियो । कोभिड महामारीको प्रभाव विस्तारै कम हुँदै गयो । आम लगानीकर्ता जो पुँजी बजारमा प्रवेश गरेका थिए, उनीहरु आफ्नै ब्यवसाय तिर फर्किनु भयो । सँग–सँगै नियामक निकाय नेपाल राष्ट बैंकले मौद्रिक नीति मार्फत बजारलाई पोलिसी मार्फत सुधार गर्यो । जसको कारण बजार १८०० को सेरोफेरोमा आइपुग्यो । विस्तारै १८०० बाट २२००, २५००, २८०० विन्दुमा सुधार हुँदै गयो । विगतमा बजार जसरी बढ्नु पर्ने हो त्यसरी बढ्न सकेन ।
तर, पछिल्लो सयम राष्ट बैंकले ल्याएको नीति परिमार्जन हुँदै गएको अवस्था छ । कोभिडको समयमा कसेर राखेको नीतिहरु विस्तारै खुकुलो बनाइरहेको छ । कर्जाका हिसाबमा संस्थागत लगानीकर्तालाई सीमा हटाएको छ र ब्यक्तिगत तर्फ बढाएर २५ करोड पुर्याएको छ । बैंकमा तरलता प्रशस्त रहेको छ । जसको कारण बढेर ३००० को विन्दुमा पुग्यो र अहिले सुधार भयो ।समग्रमा हेर्दा बजार सुधार भइरहेको देखिन्छ । तर अझै अपेक्षा गरेअनुसार सुधार भने हुन सकेको छैन । आगामी दिनमा बजारले थप इतिहास कामय गर्ने देखिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारप्रति सकारात्मक सन्देश दिएको छ । गभर्नर विश्व पौडेल आएदेखि लगानीकर्ता अलि हौसिएको पनि देखिन्छ । गभर्नर प्रति लगानीकर्ता बढी आशावादी भएका हुन् ?
अहिलेको गभर्नर अर्थतन्त्र बुझेको ब्यक्ति हुनुहुन्छ । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भइसकेको ब्यक्ति हुन् । पौडेलले देशको कुनाकाप्चासम्म पुगेर अर्थतन्त्र चलयमान हुने मौद्रिक नीति ल्याउनु भएको छ । उहाँ केहि गरौ भनेर लागेको देखिन्छ । उहाँले ल्याएको मौद्रिक नीति राज्यले ल्याएको बजेटमा बल पुग्नेगरि आएको छ । अहिलेको मौद्रिक नीति पुँजी बजारमैत्री रहेको छ । जसको कारण बजारले निरन्तर उचाईको यात्रामा अगाडि बढेको छ । कारोबार रकम समेत निकै उच्च भइरहेको छ ।
आजको दिनमा हामीसँग बैंक तथा वित्तीय संस्था पर्याप्त तरलता छ । ७२ खर्ब २२ अर्ब डिपोजिट भइरहँदा ल्याण्डिङ हेर्ने हो भने ५५ खर्ब ६२ अर्ब मात्रै छ । भने डिपोजिट जति हो ९० प्रतिशतसम्म बैंकले लगानी गर्ने पाउँछन् । तर, अहिले त्यो अवस्था देखिदैन । हिजोका दिनमा १४ प्रतिशतभन्दा बढी ब्याजदर तिरी रहेको अवस्थामा आजको दिनमा ७ देखि ८ प्रतिशतसम्म ब्याजदर आइपुगेको छ । ऋण लिएर लगानी गर्नेहरुका लागि समेत सहज अवस्था बनेको छ । बैंकमा पैसा जम्मा गर्नेहरु समेत पुँजीबजार प्रति आकर्षिक भइरहेका छन् । अन्य क्षेत्रभन्दा पुँजी बजारमा लगानी उत्तम अवसर रहेको छ । घरजग्गामा जाने हो भने ठूलो लगानी चाहिन्छ । तर सानो लगानी लिएर सहज रुपमा प्रवेश गर्न सकिने क्षेत्र भनेको पुँजी बजार नै हो ।
अझ, अहिले नयाँ गभर्नर आइसकेपछि लगानीकर्ताको हौसला बढेर मनोवल समेत वृद्धि हुँदै गएको छ । बैंक तथा वित्तीय क्षेत्रको लाभांश क्षमता समेत सुधार हुने देखिएको छ । जसले गर्दा अब बजारले नकारात्मक बनेर रोकिने आधार केहि छैन ।

वित्तीय रुपमा अरु सेक्टर भन्दा बलियोे रहेको बैंकीङ्ग क्षेत्रमा राष्ट्र बैंक पनि विस्तारै लचिलो देखि रहेको छ ? हकप्रद शेयर निष्कासनले त थप रौनक थपेको छ । अबको दिनमा यो क्षेत्र लगानीकर्ताका लागि कतिको उत्तम हुन सक्छ ?
मौद्रिक नीतिले गर्दा बैंक तथा वित्तीय संस्थाको शेयरमा सुधार हुने देखिएको छ । बैंकको नाफामा समेत सुधार हुनेछ । हिजोको दिनमा खराब कर्जा बढी रहेको थियो भने अबका दिनमा नाफा बढी रहेको छ । घरजग्गामा कर्जाको सीमा बढाइएको छ । यसमा पनि लगानी वृद्धि हुने अवस्था देखिएको छ । यसले गर्दा कर्जाको माग समेत वृद्धि हुने देखिएको छ । साना तथा मझौला क्षेत्रदेखि पर्यटनलाई समेटेर मौद्रिक नीति आएको छ । जसले कर्जामा माग बढाउने देखिएको सम्भावना छ ।
मौद्रिक नीतिले दिएको सहजताका कारण बैंकको लाभांश क्षमता समेत बढ्दै जानेछ । यसले गर्दा बैंकको शेयर मूल्यमा चमक आउने देखिएको छ । आजको दिनसम्म बैंकको शेयर मूल्य न्यून् स्तरमा रहेको छ । बैंकको शेयर खरिद गर्ने यो उत्तम समय हो ।
लघुवित्तको लाभांशमा लगाएको १५ प्रतिशतको सीमालाई कसरी लिनु भएको छ ?
मौद्रिक नीति मार्फत लघुवित्तको लाभांशमा लगाएको १५ प्रतिशतको सीमा पुनर्आवलोकन हुने भनिएको छ । सर्कुलर आइसकेको छैन । यसमा राष्ट्र बैंकले केहि न केहि सुधार गर्ने अपेक्षा लिएको छ ।
अहिले बजारमा चर्चामा रहेको विषय छ जलविद्युत कम्पनीको आइपीओ । उत्पादन शुरु गरि सकेपछि मात्रै आइपीओमा जाने बोर्डले गर्न लागेको ब्यवस्था कस्तो प्रति तपाईलाई कस्तो लाग्छ ?
लगानीकर्ताको नजरबाट हेर्दा जलविद्युत मात्र नभई जुनसुकै क्षेत्र भएपनि कम्तिमा नेटवर्थ प्लसमा हुनुपर्छ भन्ने हो । कम्पनी खोल्ने तर नेटवर्थ माइनसमा गएका कम्पनीहरुले सर्वसाधारणका लागि शेयर खुलागर्नु राम्रो होइन ।
ऋण तिर्नका लागि समेत शेयर निष्काशन गर्ने काम भइरहेको छ । कुनै योजना सम्पन्न भइसकेपछि हकप्रद निष्काशन अनुमति दिनु राम्रो हुन्छ । किनकी सर्वसाधारणबाट उठाएको पैसा ऋण चुक्ता भन्दा नयाँ लगानीको ठाउँँमा जानु पर्छ ।
आइपीओका विषयमा समेत लगानीकर्ताका लागि बोर्डले गरेको निर्णय स्वागतयोग्य नै देखिन्छ । जसले लगानीकर्ता कम्पनी आशा र भरौसा वृद्धि हुँदै जान्छ ।
बजार सुधारका लागि नियामक निकायहरू जस्तै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज कति जिम्मेवार र प्रभावकारी देखिनुभएको छ ?
पुँजी बजार प्रविधिमैत्री हुनु आवश्यक रहेको छ । नेप्से पनर्संरचना गर्न आवश्यक छ । २१ औं शताब्तीलाई सुहाउने प्रविधिको विकास अहिलेको मुख्य आवश्यकता हो । जुनसुकै माध्यमबाट भएपनि प्रविधिमैत्री बनाई लगानीकर्ताका लागि सहज र सरल बनाउनु पर्छ ।
यदि यसो हुन सकेन भने नयाँ स्टक आउनु पर्छ । बजारमा सानो पुँजी छ, सानो बजार छ, नयाँ स्टक किन चाहियो भन्ने कुरा उठीरहेको छ । नयाँ स्टक प्रतिस्पर्धाका लागि भएपनि चाहिन्छ ।
बजारमा भइरहेको चलखेल नियन्त्रण गर्ने काम पनि नियामक निकायको हो । तर, बोर्ड यसमा सक्रिय भएर लागेको पाइदैन । धितोपत्र बोर्डले सर्वसाधारणलाई शेयर निष्काशनमा जान दिनु भन्दा अघि समग्र कुरालाई औल्याएर अघि बढ्नु पर्छ । नियामक निकाय बलियो नभएसम्म चलखेल गर्ने काम भईरहन्छ ।
कहिलेकाँही बजारको करेक्सन बिना नै माथि उठेको देखिन्छ । मौद्रिक नीति आएपछि पनि निरन्तर बजार ८ दिनसम्म सुधार देखिएको थियो । करेक्सन बिना बजार कति दिगो रहन सक्छ ?
पुँजी बजार करेक्सन हुँदै अघि बढ्नु पर्छ । यदि करेक्सन भएन भने हामी गन्तव्यमा पुग्न सक्दैनौं । बजार रेस्ट नगरी अघि बढ्नै सक्दैन । बजार अपडाउन हुँदै अघि बढ्नु पर्छ । यहि नै शेयर बजारको सुन्दरता हो ।
अहिलेको पुँजीबजारले आधार बनाइसकेको छ । बजारमा कोही पनि आत्तिनु पर्ने, डराउनु पर्ने अवस्था छैन । पोलिसिले समेत साथ लिइरहेको अधिकांश सूचक सकारात्मक रहेको हुँदा बजारको अझ माथि जान्छ ।
बजारमा प्रवेश गर्नु अघि केही कुरा बुझेर मात्रै अघि बढ्नु पर्छ । बजार लहलहैमा प्रवेश गर्ने क्षेत्र होइन । अरुले कमाएको हेरेर बजार प्रवेश गर्ने ठाउँ होइन । नवप्रवेशीले शुरुमा सानो–सानो लगानी गरेर सिक्नु पर्छ । ऋण लिएर बजारमा लगानी गर्नु जोखिम हुन्छ । बजार सम्बन्धी ज्ञान भएकाहरुका लागि अहिले जता पनि अवसर छ । प्रशिक्षण समेत लिएर बजारमा प्रवेश गर्नु पर्छ ।

नेपालको राजनीतिमा उतार चढाव आइरहन्छ । जसले बजारलाई नराम्रो धक्का दिन्छ । अहिले तत्काल असर गर्ने कुराहरु केके देख्नु भएको छ ?
पुँजी बजार र अर्थतन्त्र भनेको सरकारसँग जोडिएको विषय हो । उसले लिने पोलिसी र नीतिले पुँजी बजारको यात्रा तयः गर्छ । सरकार आउँदा अर्थमन्त्री कस्तो किसिमको आउँछ ? कस्तो किसिमको मन्त्रीपरिषद् बन्छ ? र त्यसले लिने पोलिसी कस्तो हुन्छ ? भन्ने कुराले बजारमा उतारचढाव देखि रहन्छ ।
जो राजनीति दल सरकारमा आएपनि अर्थतन्त्रको विकास हुनुपर्छ । अर्थतन्त्रले नै पुँजी बजारलाई सकारात्मक तिर लैजान सहयोग गर्छ ।
बजारको जग राम्रो बसी सकेको हुँदा अबको बजारको यात्रा सहज हुनेनै छ । बजारका लागि आवश्यक सबै सूचक सकारात्मक रहेको हुँदा अबको यात्रा बुल तिर नै हुने कुरामा विश्वत छु ।













