कुमारी बैंकको अगुवाइमा २१६ मे.वा को माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि ४१ अर्ब ६० करोडको लगानी जुट्यो

१८ श्रावण २०८२, आईतवार ०८:०२

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न आवश्यक लगानी जुटेको छ। कुमारी बैंकको नेतृत्वमा र एनएमबी बैंकको सह–नेतृत्वमा ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जुटेको हो।

यस आयोजना निर्माणमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्ग्रिला विकास बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्सको पनि लगानी रहेको छ।

यो सम्झौता साउन १६ गते काठमाडौंमा एक विशेष कार्यक्रमको बीचमा सम्पन्न भएको हो। कुमारी बैंकका सीईओ रामचन्द्र खनाल र आयोजना प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले सम्झौतामा हस्ताक्षर गरेका थिए।

आयोजना बनाउन लाग्ने कुल रकम ४१ अर्ब ६० करोडमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत लगानीकर्ताको पूँजीबाट जुटाइनेछ। परियोजनाको सम्पूर्ण अध्ययन तथा तयारी सकिएको छ।

यो आयोजना अर्ध–बाँध प्रणालीमा आधारित हुनेछ जसले ४ घण्टा ३० मिनेटसम्म बढी विद्युत उत्पादन गर्न सक्छ। यहाँबाट बर्सेनि करिब १ हजार २३० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। वर्षायाममा ८३४.४९ गिगावाट र जाडोमा ३९५.११ गिगावाट विद्युत उत्पादन हुनेछ। यसमा विद्युत् उत्पादनको मूल्य पनि निश्चित भइसकेको छ जाडोयामको पिक टाइममा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र अन्य समयमा ८ रुपैयाँ ४० पैसा तोकिएको छ।

उत्पन्न विद्युत् आयोजनास्थलमै बनाइने २२० हजार भोल्ट क्षमताको लाइनमार्फत ३० किलोमिटर टाढाको प्रस्तावित बझाङ सब–स्टेसनसम्म लगिनेछ र त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाका लागि २५ किलोमिटर सडक बनाइनेछ। एउटा मेगावाट उत्पादन गर्न झन्डै १९ करोड २५ लाख रुपैयाँ खर्च लाग्नेछ। पहिलो वर्षमै झन्डै ७ अर्ब ६७ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।

आयोजनामा समृद्धि इनर्जी लिमिटेडले ३० प्रतिशत पूँजी विभिन्न ठूला संस्थागत र व्यक्तिगत लगानीकर्ताबाट उठाउँदै छ। लगानी गर्नेहरूमध्ये सिउरी न्यादी पावर, ङादी ग्रुप पावर, सगरमाथा जलविद्युत कम्पनी, माई खोला हाइड्रोपावर, यश होल्डिङजस्ता ठूला कम्पनीहरू छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*