राष्ट्रिय बीमा कम्पनी १२औं वर्षमा प्रवेश, निष्पक्ष र प्रभावकारी बीमा सेवा दिने प्रतिबद्धता

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी १२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले बीमा सेवा र बीमितहरुलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता गरेको छ ।
वि.स. २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना भए पश्चात राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम स्थापना भएको राष्ट्रिय बीमा संस्थानको निर्जीवन विभागलाई नेपाल सरकारको २०७१ बैशाख २३ गतेको निर्णयअनुसार छुट्टै संगठित संस्थाको नाममा व्यवसाय सञ्चालन गर्ने निर्णयले २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन गरेको थियो ।
कम्पनी आजदेखि स्थापनाको ११औं वर्ष पुरा गरेर १२औं वर्षमा प्रवेश गरेको छ । पाँच दशक लामो निर्जीबन बीमा व्यवसायको इतिहास रहेको कम्पनीले लामो व्यवसायिक यात्रा तय गरेको छ । यस अवधिमा सहकार्य गर्ने, सहयोग गर्ने तथा नागरिकको सम्पत्तिको लागि विश्वास गर्ने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र आम नागरिकहरुलाई धन्यवाद व्यक्त गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो । आन्तरिक स्रोत र साधनहरूको परिचालन मार्फत अर्थतन्त्र गतिशील बनाउने, बीमा सेवाको माध्यमबाट आर्थिक जोखिम व्यवस्थापन गर्ने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य अनुसार कम्पनीले विगत ५७ वर्षदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरू, सार्वजनिक संस्थानहरू, निजी व्यावसायिक प्रतिष्ठानहरू र सर्वसाधारण जनतालाई विभिन्न बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा दिनेश उपाध्याय र सञ्चालकमा बोलराज आचार्य, सागर कुमार सिंह, प्रकाश कुमार अधिकारी, रबि कुमार तिरुवेला, लक्ष्मी प्रसाद श्रेष्ठ र कम्पनी सचिवमा डा. सिर्जना पन्त रहेकी छिन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवहरी श्रेष्ठ, डेपुटी सीईओमा सुवास कोइराला, एचओडी चिफमा रजनी पौडेल, प्रशासन विभाग प्रमुखमा डा. सिर्जना पन्त, अकाउन्ट तथा फाइनान्स हेडमा सीए. अब्दुस समाद अन्सारी लगायतका क्षमतावान व्यवस्थापकीय कर्मचारी रहेका छन् ।
फलस्वरूप नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी भूमिका रहेको छ । सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूप उच्च स्तरको सेवा प्रवाहका कारण व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ ।













