मौद्रिक नीतिको आडमा शेयर बजारमा माफियाको खेल, भारी गिरावटमा आत्तिए लगानीकर्ता

समाचार टिप्पणी
असार २७ गते सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले देशको आर्थिक अवस्थालाई सुधार गर्ने अपेक्षा सबैले गरेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्र, व्यवसायी, घरजग्गा व्यापारी र विशेषगरी शेयर बजारका लगानीकर्ताले प्रारम्भमा सकारात्मक रूपमा हेरे । लगानीमैत्री मौद्रिक नीतिको आशामा लामो समयदेखि प्रतीक्षारत शेयर बजारले प्रारम्भिक रूपमा यो नीतिलाई स्वागत ग-यो र बजारको परिसूचक नेप्से निरन्तर उकालो लाग्यो । तर, नीतिको गहिरो विश्लेषण नगरी हौसिएर बजार उचाल्नेहरू पछि माफियाको जालोमा परेका छन् भन्ने संकेत दिन सुरु गरिसकेको छ ।
मौद्रिक नीति आउनुअघि नेप्से परिसूचक २५००–२७०० अंकको बीचमा घुमिरहेको थियो । नीतिको घोषणापछि परिसूचक लगातार आठ दिनसम्म बढ्दै ३००० अंक नाघ्यो । यस्तो अचानकको वृद्धिलाई धेरैले मौद्रिक नीतिको ‘प्रोत्साहन’ मान्ने गल्ती गरे । तर वास्तविकता के थियो भने माफियाहरूले नियोजित रूपमा बजार उचालेर नयाँ लगानीकर्तालाई तान्न खोजेका थिए । यथार्थमा बजार करेक्सन नगरी झट्कै उकालो लागेको अवस्था स्वाभाविक थिएन । जुन बजारले १२७ अंकको वृद्धि गरेको थियो, त्यो वृद्धि मौद्रिक नीतिको गहिरो समीक्षा नभई हचुवा भरमा गरिएको लगानीका कारण थियो ।
यो परिदृश्यले २०७८ भदौ २ गतेको अवस्था सम्झाउँछ, जुन बेला नेप्से ३१९८ अंक पुगेको थियो । त्यो समय पनि माफियाहरूले बजार ५००० बिन्दु पुग्ने प्रचार गर्दै साना लगानीकर्तालाई उत्साहित पारे र आफैं भने लाभ लिएर बाहिरिए । त्यसपछि बजार ओरालो लागेर १८०० अंकसम्म झर्यो जसले हजारौं लगानीकर्तालाई कंगाल बनायो । कोही ऋणको भारीमा परे त कोही आत्महत्या गर्न बाध्य भए । अहिले पुनः त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ । गम्भीर आर्थिक समीक्षा विना मौद्रिक नीतिको समर्थनमा बजार उचालेर साना लगानीकर्तालाई पासोमा पार्ने प्रवृत्ति खतरनाक बन्दै गएको छ ।
नयाँ मौद्रिक नीतिमा उत्पादनमुखी क्षेत्रमा लगानी प्रवाह बढाउने योजना छैन । उद्योग, कृषि वा रोजगारी सृजनामा कुनै प्रत्यक्ष प्रोत्साहन छैन । बरु घरजग्गा, रियल स्टेट, व्यक्तिगत ऋण, शेयर कर्जा जस्ता अनुत्पादक क्षेत्रमा लगानी प्रवाह गर्ने संकेत दिइएको छ । यस्तो निर्णयले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा थप अनुत्पादक र असन्तुलित बनाउने खतरा बढेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूको लगानी योग्य रकम करिब ७०० अर्ब रूपैयाँ रहेको अवस्थामा सरकारले कुल ५०० अर्ब ऋण लिनुपर्ने अवस्था छ । यति ठूलो वित्तीय खाडलको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट योजना मौद्रिक नीतिमा छैन ।
मौद्रिक नीतिमा ब्याजदर घटाउने घोषणा गरिएको छ । तर, बजारमा ब्याजदर पहिले नै निकै घटिसकेको छ । यस्तो अवस्थामा निक्षेपकर्ताले बैंकमा पैसा राख्न हिच्किचाउने अवस्था आउन सक्छ । निक्षेपमा कमी आएपछि बैंकको लगानी क्षमता प्रभावित हुन्छ जसले ऋण प्रवाहलाई समेत प्रभावित पार्छ । तर, यस्ता गम्भीर असरहरूको पूर्वानुमान बिना मात्रै नीतिगत निर्णय भएको देखिन्छ । यदि यो नीति अक्षरसः कार्यान्वयन भयो भने बैंकिङ प्रणाली नै दबाबमा पर्ने तरलता संकट सिर्जना हुने र निक्षेपकर्ताको विश्वास गुम्ने अवस्था आउने निश्चितजस्तै देखिन्छ ।
शेयर बजारको उतारचढाव स्वाभाविक प्रक्रिया हो तर यथार्थमा बजारको उतारचढाव नियन्त्रित हुन थालेको देखिन थालेपछि त्यसले माफिया सक्रियता संकेत गर्दछ । मौद्रिक नीतिको नाममा केही सीमित लाभहरूलाई उचालेर बजार बढाइने त्यसपछि खुद माफियाहरू बाहिरिने र पछाडि रहेका लगानीकर्तालाई घाटा बेहोर्न बाध्य बनाउने क्रमले लगानी वातावरणलाई धराशायी बनाउने खतरा थपिएको छ ।
बजारमा भएको पछिल्लो गिरावटले देखाउँछ मौद्रिक नीतिको समर्थनमा जुन उत्साह थियो त्यो क्षणिक मात्रै रह्यो । तीन दिन लगातार नेप्सेमा भारी गिरावट आउँदा धेरै साना लगानीकर्ता आत्तिएका छन् । जसले बजार ३२०० पार गर्छ भन्ने आशमा शेयर किनेर बसेका थिए ती सबै अहिले घाटाको भारी बोकी बसेका छन् । बजार ओरालो लाग्ने बित्तिकै माफिया–नियन्त्रित गिरोह भने पूर्व–नियोजित रूपमा लाभ लिई चुकेका छन् ।
नेपालको शेयर बजारको संरचना अझै पनि समावेशी, पारदर्शी र निष्पक्ष छैन । कम्पनीको वित्तीय विवरण, लाभांशको निरन्तरता, प्रबन्ध व्यवस्थापनको पारदर्शिता आदिको सट्टा बजारको गति नीतिगत हल्ला मौद्रिक घोषणाको भ्रम तथा माफियाको सञ्चालित बजार भावमा निर्भर हुन थालेको छ । जसका कारण कम्पनीको आधारभूत वित्तीय शक्ति भन्दा पनि प्रचारात्मक हल्लाले बजारमा बढी प्रभाव पार्न थालेको छ ।
अहिलेको बजार प्रवृत्तिले अर्थतन्त्रमा माफियाहरूको चलखेल कति गहिरो छ भन्ने देखाउँछ । विशेषतः ब्रोकर, प्रवर्द्धक, युट्युबर र स्वघोषित विश्लेषकहरू यो चक्रको महत्वपूर्ण हिस्सा बन्न थालेका छन् । ती सबै मिलेर बजारको हल्ला निर्माण गर्छन् शेयर उचाल्छन् साना लगानीकर्तालाई भुलाउछन् र आफू लाभ उठाएर बाहिरिन्छन् । यो अवस्था धितोपत्र बजारलाई सुदृढ र विश्वसनीय बनाउने अभियानको विपरीत दिशामा गइरहेको छ ।
शेयर बजार सैद्धान्तिक रूपमा दीर्घकालीन लगानी गर्ने प्लेटफर्म हो । तर नेपालमा यो द्रुत लाभको लोभमा आधारित सट्टेबाजी केन्द्र जस्तो बन्दै गएको छ । लगानीकर्ताले कम्पनीका आधारभूत विवरण लेखा परीक्षण प्रतिवेदन भविष्यको व्यवसायिक योजना नहेरी हल्लाको पछि लागेर लगानी गर्ने क्रम रोकिएको छैन । शेयर बजारमा जोखिम हुन्छ भन्ने सामान्य ज्ञानसमेत नराखी लगानी गर्नु नै धेरैको घाटाको मूल कारण बन्न थालेको छ । यस्ता लगानीकर्तालाई न त बजारको गहिरो विश्लेषण छ, न त नाफा–घाटाको वास्तविक आँकलन । यस्तो बेलामा सस्तो मौद्रिक नीति आउँदा उनीहरू पुनः त्यही भ्रममा तानिन्छन् र माफियाको जालमा फस्छन् ।
नेपालको शेयर बजारमा अहिले नीतिगत अपारदर्शिता, नियमनको कमजोरी, लगानी शिक्षा अभाव र सानातिना लगानीकर्तामाथि भइरहेको लगातार शोषणले गर्दा समग्र बजार अस्थिर बन्दै गएको छ । नियामक निकायहरूले मौनता साध्ने साना लगानीकर्तालाई चेतावनी दिने मात्रै तर माफियालाई उन्मुक्ति दिने प्रवृत्तिले बजारप्रति जनविश्वास घट्दै गएको छ ।
नयाँ लगानीकर्तालाई बजारमा ल्याउने हो भने नियामक संयन्त्र, नीतिगत स्पष्टता, पारदर्शिता र कम्पनीका आधारभूत सूचकहरूमा आधारित मूल्य निर्धारण प्रणाली निर्माण गर्न आवश्यक छ । तर, अहिले भइरहेको अवस्था त्यसको ठीक विपरीत छ । धेरै कम्पनीहरू हल्लाको भरमा ५–१० गुणा बढी मूल्यमा कारोबार भइरहेका छन्, जबकि ती कम्पनीहरूको नाफा, कारोबार वा भविष्यको योजना कमजोर देखिन्छ । यस्तो अवस्थामा शेयर खरिद गर्ने साना लगानीकर्ताहरू निश्चित रूपमा घाटामा पर्नेछन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले स्पष्ट रूपमा उत्पादन क्षेत्रलाई उपेक्षा गरेर सट्टाबाजी प्रवृत्तिलाई टेवा दिएको छ । न त यो नीतिले उद्योग–व्यवसायलाई सहुलियत दिन सक्छ, न त कृषि क्षेत्रमा लगानी प्रवाह बढाउन सक्नेछ । ब्याजदरको हेरफेर मात्रै गरेर अर्थतन्त्र सुधार्ने अपेक्षा राख्नु भ्रम हो । विशेषतः जब अर्थतन्त्र आयातमुखी, रेमिट्यान्समा आश्रित, व्यापार घाटाले ग्रस्त त्यस्तो अवस्थामा उत्पादनमुखी लगानी प्रवाहबिना ब्याजदर घटाएर केही हासिल हुँदैन ।













