प्रधानमन्त्री ओली पाँच दिने विदेश भ्रमणमा

१९ श्रावण २०८२, सोमबार ०८:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन पाँच दिने विदेश भ्रमणमा तुर्कमेनिस्तान प्रस्थान गरेका छन्।

ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा शहरका लागि प्रस्थान गरेका हुन। अवाजामा साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) सम्मेलन हुँदैछ।

नेपाल हाल एलएलडिसी समूहको अध्यक्ष राष्ट्र भएकाले प्रधानमन्त्री ओली सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षका रूपमा सम्बोधन गर्नेछन्। साथै उनी एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाका वरिष्ठ अधिकारीहरूसँग पनि छलफल गर्नेछन्।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्चपदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरू छन्।

प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्रीको अनुपस्थितिमा देशको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*