आइएमई ग्रुपको अगुवाइमा १२ अर्बको ‘मध्य कालीगण्डकी’ आयोजना सुरु, नबिलसहित ६ बैंकबाट ७५% ऋण लगानी

१९ श्रावण २०८२, सोमबार १०:२५

काठमाडौं । आइएमई ग्रुपको अगुवाइमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत आयोजना निर्माण सुरु भएको छ । हाइड्रो सपोर्ट कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण थालेको हो ।

सिभिल ठेकेदार रसुवा-मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गाबाट ४ हजार ३१९ मिटर लामो सुरुङ खन्ने कार्य विस्फोटक पदार्थ प्रयोग गरेर सुरु गरिसकेको छ । हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालका अनुसार अडिटको दुरी ४५९ मिटर रहेको छ भने बाँधतर्फबाट साउन महिनाभित्र र आउटलेटतर्फबाट हिउँददेखि सुरुङ खन्ने तयारी भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ स्थित सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध निर्माण गरी संकलित पानीलाई १५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा बन्ने भूमिगत विद्युत् गृहमा पठाइनेछ । विद्युत् गृह, स्विचयार्ड र कन्ट्रोल रुम सबै जमिनमुनि भूमिगत संरचनामा रहनेछन् ।

रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेका अनुसार सुरुङ निर्माणमा अत्याधुनिक बुमर रोबोटिक सटकिटलगायत प्रविधि प्रयोग गरिएको छ । उत्पादन हुने विद्युत नौनीबगरदेखि झन्डै सात किलोमिटर माथि अवस्थित २२० केभी क्षमताको दानाको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनालाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सञ्चालक ढकालले जानकारी दिए । कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको आयोजना नबिल बैंकको नेतृत्वमा ६ वटा वाणिज्य बैंकको सहकार्यमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत प्रवर्द्धक तथा सेयर लगानीकर्ताबाट पूँजी जुटाएर निर्माण हुँदैछ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौताअनुसार हिउँद याममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दर कायम गरिएको छ । अनुमानित उत्पादनअनुसार हिउँद याममा १३० गिगावाट विद्युत बिक्री गरी १ अर्ब ९ करोड रुपैयाँ र बर्खायाममा २७७ गिगावाट विद्युत बिक्रीबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

मध्य कालीगण्डकी आयोजना बाहेक कालीगण्डकी नदी बेसिनमा ३ सय मेगावाटभन्दा बढी क्षमताका थप ३ वटा जलविद्युत आयोजनाले निर्माण अनुमति पाइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*