महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर

१९ श्रावण २०८२, सोमबार ११:२५

काठमाडौं। बजाजको विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपालमा सार्वजनिक भएको छ । तर कम्पनीले सार्वजनिक गरेको मोडेल, मूल्य र विशेषताहरुले स्कुटरको प्रतिस्पर्धात्मकता र प्रयोगकर्ताको हितप्रति प्रश्न उठाएको छ ।

हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक स्कुटरको ३५०१ मोडेल नेपालमा भित्र्याएको हो, जुन कम्पनीका अनुसार आइतबार औपचारिक रुपमा सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएसँगै स्कुटरको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ, जुन बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा महँगो देखिएको छ ।

१५३ किलोमिटर रेञ्ज दिने दाबी गरिएको चेतक स्कुटरमा ३.५ किलोवाटको लिथियम आयन ब्याट्री राखिएको छ । कम्पनीले ८० प्रतिशत चार्ज हुन ३ घण्टा लाग्ने र स्कुटरको अधिकतम स्पीड ७३ किलोमिटर प्रतिघण्टा हुने उल्लेख गरेको छ । यस्ता विवरणले यो स्कुटर सहर भित्रको सामान्य प्रयोगका लागि मात्र सीमित हुने देखिन्छ, जहाँ बजारमा ९० देखि ११० किलोमिटर प्रतिघण्टा सम्म कुद्न सक्ने, बढी रेञ्ज दिने स्कुटरहरु सस्तो मूल्यमा उपलब्ध छन् ।

यति महँगो मूल्यमा उपलब्ध चेतकमा फिचरको पनि सीमितता देखिन्छ । कम्पनीले स्कुटरमा वाटरप्रुफ आईपी६७ रेटिङ, ४ किलोवाटको मोटर, ३५ लिटर बराबरको अन्डर सिट स्टोरेज, ब्लुटुथ जडानसहितको ५ इन्चको रंगीन टीएफटी डिस्प्ले राखिएको दाबी गरे पनि यस्ता फिचर आजको मितिमा सामान्य रूपमा सस्तो र मध्यम मूल्यका स्कुटरहरुमा पनि पाइन थालेका छन् ।

यसबाहेक मोबाईल एपबाट स्कुटर नियन्त्रण गर्ने, ओभरस्पिड चेतावनी र चोरी भएमा स्कुटर लक गर्ने जस्ता सुविधा उल्लेख गरिएको भए पनि यस्ता प्रविधिमा प्राविधिक समस्या, नेटवर्क कनेक्टिभिटीको भरपर्दोपन र सर्भर डाउन जस्ता समस्या हुने सम्भावना रहन्छ । नेपालमा अझै पूर्ण रुपमा कार्यशील र भरपर्दो मोबाइल एप प्रयोगको वातावरण नबनेको अवस्थामा यस्ता फिचर व्यवहारिकभन्दा प्रचारमुखी देखिन्छन् ।

कम्पनीले स्कुटरमा ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ भने मोटर र ब्याट्रीमा ५ वर्षको वारेन्टी दिएको छ । तर स्कुटरको वास्तविक प्रदर्शन, सर्भिसिङ पहुँच, स्पेयर पार्ट्सको सहजता र चार्जिङ पूर्वाधारको अवस्था कमजोर हुँदा यस्ता वारेन्टी व्यवहारमै कति उपयोगी हुने हुन् भन्ने स्पष्ट छैन ।

अर्कोतर्फ, बजाज ब्राण्ड मोटरसाइकल क्षेत्रमा स्थापित भए पनि विद्युतीय स्कुटर क्षेत्रमा कम्पनीको अनुभव सीमित छ । यस्तो अवस्थामा कम्पनीले चेतकलाई एक बलियो ब्राण्डको रूपमा प्रस्तुत गरे पनि बजारमा दशकौंदेखि विद्युतीय स्कुटर उत्पादन गर्दै आएका अन्य ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सजिलो देखिन्न ।

तीव्र प्रतिस्पर्धाले भरिएको विद्युतीय सवारीको बजारमा चेतक ईभीको उपस्थिति निराशाजनक देखिएको छ । हाल बजारमा कम मूल्यमा उपलब्ध स्कुटरहरूले बढी स्पीड, लामो रेञ्ज, प्राविधिक विश्वसनीयता र प्रयोगकर्ता-मैत्री सुविधा प्रदान गरिरहेका छन्, जुन सन्दर्भमा चेतक पूर्णतः कमजोर देखिन्छ । कम्पनीले स्कुटरको मूल्यलाई अत्यन्तै महँगो राखेर नेपाली उपभोक्ताको पहुँचभन्दा बाहिर पुर्‍याएको छ तर त्यो मूल्यअनुसारको सुविधा, प्रविधि र विश्वास दिलाउने आधार प्रस्तुत गर्न असफल भएको छ ।

प्रचारमुखी अभियानले मात्रै चेतक ईभीलाई बजारमा टिकाउने कल्पना गर्नु एकदमै भ्रामक देखिन्छ । बजाज जस्तो ब्रान्डबाट ग्राहकले गरेको अपेक्षालाई चेतकले न त मूल्यमा, न प्रविधिमा, न सेवा सजिलोतामा पुरा गर्न सक्ने संकेत देखिएको छ बरु स्कुटर सार्वजनिक भएसँगै यसको औचित्यमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

एनएस मोडलका बजाज पल्सर बाइकमा आगो लाग्ने समस्या बढ्दै

One thought on “महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*