नेपाली अटो बजारमा सेरेस ३ मा समस्यै-समस्या, ग्राहक ठग्दै एमएडब्लु वृद्धि मोटर्स

१९ श्रावण २०८२, सोमबार १२:४७

काठमाडौँ । नेपाली अटो बजारमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सरकारी कर छुट, इन्धन खर्च घटाउने चाहना र वातावरणमैत्री प्रविधिको चाहना नै यसको मूल कारण हुन् । तर बजारमा आउने सबै विद्युतीय सवारीले ग्राहकको विश्वास जित्न सकेका छैनन् । यसै सन्दर्भमा पछिल्लो समय गम्भीर आलोचना खेपिरहेको गाडी हो- सेरेस ३ ईभी ।

चीनको डोङफेङ मोटर्स अन्तर्गतको सेरेस ब्रान्डले निर्माण गरेको यो मोडल नेपालमा एमएडब्लु वृद्धि मोटर्समार्फत बिक्री वितरण हुँदै आएको छ । सुरुमा आकर्षक डिजाइन, सुविधाजनक विशेषता र उत्कृष्ट ब्रान्डको नाममा ग्राहकलाई आकर्षित गरिए पनि पछिल्लो समय प्रयोगकर्ताले सामना गरिरहेका गम्भीर प्रविधिगत, संरचनागत र सुरक्षासम्बन्धी समस्याले यो गाडीप्रति गम्भीर प्रश्न उठाएको छ ।

केहि समयअघि मात्रै काठमाडौँका एक व्यवसायी राजेश न्यौपानेले ५३ लाख रुपैयाँमा खरिद गरेका सेरेस ३ गाडी मर्मतमा लाँदा झन् १ करोड ५० लाख रुपैयाँ बराबरको खर्च निक्लिएको घटनाले यस गाडीको गुणस्तर र कम्पनीको ग्राहक सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । ग्राहकहरूका अनुसार कम्पनी सुरुवातमा आकर्षक सुविधा र तामझाम देखाएर बिक्रीमा केन्द्रित भए पनि सवारीमा समस्या देखिएपछि त्यसप्रति बेवास्ता गर्न थालेको छ । कम्पनीको ग्राहक सेवा विभाग समस्याको समाधान गर्नभन्दा पनि जिम्मेवारीबाट पन्छिनमै तल्लीन देखिन्छ । सेवाको स्तर सुधार्ने भन्दा दोष ग्राहक वा ग्यारेजको घचघचमा थोपर्ने प्रयासले कम्पनीको नैतिक धरातललाई कमजोर बनाइरहेको छ ।

धेरै सेरेस ३ प्रयोगकर्ताहरूले सवारीसाधनमा प्राविधिक गडबडी, आरामदायक सवारीको कमी तथा दैनिक प्रयोगमा असहजता रहेको गुनासो गरेका छन् । ब्रेक प्रणालीमा समस्या, भ्याकुम पम्पको कार्यक्षमता कमजोर, पछाडिको ट्रंक लक नमिल्ने, १२ भोल्ट ब्याट्री छिटो डाउन हुने तथा चिसो मौसममा चार्ज नहुने जस्ता समस्याहरू सामान्यजस्तै देखिन थालेका छन् । विद्युतीय सवारीमा चार्जको गति प्रमुख पक्ष मानिन्छ तर सेरेस ३ मा छिटो चार्ज गर्ने भनिए तापनि व्यवहारिक प्रयोगमा त्यो अत्यन्तै सुस्त देखिएको छ । कतिपय अवस्थामा चिसो मौसममा चार्ज नै सुरु नहुने अवस्था समेत देखिएको प्रयोगकर्ताहरू बताउँछन् ।

गाडीको सवारी अनुभव पनि सहज छैन । स्टेरिङ चलाउँदा कृत्रिम अनुभूति हुने, मोड लिँदा गाडी अस्वाभाविक रूपमा एकातिर झुकेको महसुस हुने, सस्पेन्सन प्रणाली असन्तुलित भएकाले सवारीको आराम घट्ने जस्ता अनुभवहरू व्यापक छन् । काठमाडौँमा सार्वजनिक रूपमा एक सेरेस ३ गाडीबाट अचानक धुवाँ निस्किएको घटना भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सर्ट सर्किटका कारण उक्त घटना भएको अनुमान गरिएको थियो ।

सूचना प्रणालीतर्फ हेर्दा पनि प्रयोगकर्ताको अनुभव सन्तोषजनक छैन । पुराना मोडलमा सफ्टवेयर अद्यावधिक गर्न नमिल्ने, प्रयोगकर्ता मेनु सीमित तथा लुकेका सेटिङहरूमा पहुँच नपाइने अवस्था छ । अगाडिको अवरोध पहिचान गर्ने सेन्सरले काम नगर्ने वा अनियमित काम गर्ने, टायर चाँडै क्षतिग्रस्त हुने र ब्याट्री ८० प्रतिशत पुगेपछि चार्ज गति घटाउने प्रविधि नहुनुले दीर्घकालीन सुरक्षामा असर पार्ने खतरा छ । यस्तो अवस्थामा यस्तो मोडलको टिकाउपनमाथि समेत गम्भीर प्रश्न उठेको छ ।

५३ लाखमा किनेको ‘सेरेस थ्री’ गाडीको मर्मत खर्च १ करोड ५० लाख

सेरेस ३ को समस्या यति मात्रमा सीमित छैन । चीनको बजारमा पनि यो मोडल गम्भीर आलोचनाको घेरामा परेको छ । चिनियाँ मिडिया रिपोर्टहरू अनुसार सेरेस ३ मा सुरक्षासम्बन्धी न्यूनतम सुविधा मात्र दिइएको, प्रयोग गरिएका सामग्रीहरू कमजोर रहेको तथा सेवा केन्द्रको व्यवस्थापन कमजोर रहेको उल्लेख गरिएको छ । चीनको प्रतिष्ठित स्वतन्त्र अटो ब्लग सिन्हुआ ओटो ले सेरेस ३ को समिक्षा गर्दै लेखेको थियो, ‘यस गाडीले केवल बाहिरी चमक देखाउँछ, भित्री प्रविधि भने अधुरो र अपूरो छ।’

चीनमै यो मोडल प्रतिस्पर्धी मोडलहरूसँग तुलनामा धेरै पछि परेको पाइन्छ । हुन्डाई कोना, बीवाईडी डल्फिन वा एमजी ४ जस्ता कम्पनीहरूले दिइरहेको मूल्यअनुसारको सुविधा र गुणस्तरसँग तुलना गर्दा सेरेस ३ ले त्यो अपेक्षा पूरा गर्न सकिरहेको छैन । तर मूल्य भने उच्च छ । यही कारण चीनमै पनि यो मोडलले बजार हिस्सा गुमाइरहेको छ ।

नेपालमा सेरेस ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले जिम्मेवारीपूर्वक काम गरिरहेको देखिँदैन । ग्राहकले लगातार समस्या जनाइरहँदा पनि समाधान नगर्ने, गुनासो बेवास्ता गर्ने र दोष अन्यत्र थोपर्ने प्रवृत्तिले कम्पनीको विश्वसनीयता गुमाउँदै लगेको छ ।

महँगो मूल्यमा सवारी खरिद गर्दा प्रयोगकर्ताले गुणस्तरीय सेवा, उच्च प्रविधि, सुरक्षित संरचना र समस्यामा उत्तरदायी सेवा चाहन्छन् । तर यहाँ डिजाईन, सजावट र झिलिमिली देखाएर उपभोक्तालाई आकर्षित गर्ने रणनीति मात्र अपनाइएको छ । गाडीले राम्रो देखिनु मात्र पर्याप्त छैन त्यो दीर्घकालीन टिकाउ, सुरक्षा र प्रयोगकर्ता सन्तुष्टिमा खरो उत्रिन सक्नुपर्छ । नेपालमा विद्युतीय सवारीको सम्भावना उज्यालो भए पनि सेरेस ३ जस्ता उदाहरणले यो क्षेत्रप्रति उपभोक्ताको विश्वास डगमगाउने सम्भावना बढेको छ । नेपालमा सेरेज सार्वजनिक भएको १ वर्ष मात्रै हुँदा यो सवारी समस्याग्रस्त भइसकेको छ ।

पार्किङमै जलेर खरानी भयो सेरेस ईभी गाडी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*