गणपति लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासँगै ईपीएस बृद्धि

२० श्रावण २०८२, मंगलवार १०:३१

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

\समीक्षा अवधिमा संस्थाले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.५७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४२.२६ प्रतिशत र सञ्चालन मुनाफा १६८.२७ प्रतिशत बढेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १८ रुपैयाँ १ पैसा बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*