भदौ ३ देखि भृकुटीमण्डपमा नाडा अटो शो: १९ चारपांग्रे र १३ व्यावसायिक सवारी ब्राण्डको भव्य प्रदर्शनी

काठमाडौं । नेपालमा अटो क्षेत्रको सबैभन्दा ठूलो र प्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ यही भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्न लागेको यो प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने भएका हुन् ।
यसपालिको नाडा अटो शो ‘Go For More’ भन्ने नारासहित आयोजना गरिंदैछ, जसले नेपालमा दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको युग आरम्भ गर्ने संकेत दिएको आयोजकको दाबी छ। नाडा अध्यक्ष करण चौधरीका अनुसार यो केवल सवारी साधनको प्रदर्शनी मात्र नभई नेपाली अटो उद्योगको सम्भावना, प्रविधि, नवप्रवर्तन र बजारको गतिशीलतालाई एकै छानामुनि ल्याउने प्रयास हो।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने, ‘नाडा अटो शो २०२५ प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुनेछ। यस वर्षको अटो शोले गत वर्षभन्दा फरक ढंगमा ‘मोबिलिटी’ के हो, ‘भविष्य’ के हो भन्ने कुरा दर्शकलाई महसुस गराउनेछ।’
उनी भन्छन्, ‘यसपालिको शो नेपालमा अहिलेसम्मकै ऐतिहासिक अटो शो हुनेछ। यो शो केवल अटोमोबाइल व्यवसायको उत्सव मात्र नभई दुरदर्शी सोचलाई आत्मसाथ गर्ने क्षण पनि हो। गत वर्ष मैले अटो क्षेत्रको वजन देखाउन चाहेको थिएँ, यसपालि त्यो भावना अझ स्पष्ट रूपले दर्शकले अनुभव गर्नेछन्।’
प्रविधि र भविष्यतर्फको कदमलाई प्राथमिकतामा राख्दै यस वर्षको अटो शोमा चीनको एमएडब्लु वृद्धि (युनिट्री) कम्पनीका उन्नत चारपांग्रे रोबोटहरू प्रदर्शन गरिनेछ। यी रोबोटहरूले स्वचालन र कृत्रिम बुद्धिमताको नयाँ युगको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, Deepal VTOL UAV जस्ता शहरी हवाई मोबिलिटीलाई नयाँ परिभाषा दिने प्रविधिहरू पनि प्रदर्शनमा आउनेछन्।
यसका अतिरिक्त प्रदर्शनीमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी साधन ब्रान्डहरू, ३५ वटा ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्थाहरूले भाग लिनेछन्। कुल १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने र करिब १ लाखभन्दा बढी आगन्तुकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
यो शो ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको छ भने १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र रहनेछ, जुन नेपालको अटो इतिहासमा अहिलेसम्मकै ठूलो हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम विभिन्न सशक्त साझेदारहरूको सहकार्यमा सम्पन्न हुँदैछ। मुख्य प्रायोजकको रूपमा एमएडब्लु वृद्धि (युनिट्री), सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर य्याङ्गो, टिकटिङ पार्टनर खल्ती (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक), इन्टरनेट पार्टनर वर्ल्डलिंक, सुरक्षा निगरानीमा सिसिटिभि नेपाल, अग्नि सुरक्षा साझेदार हिमालयन सेफ्टी सोलुसन, अस्पताल साझेदार किष्ट अस्पताल, आतिथ्य व्यवस्थापन द प्लाजा, डोर प्राइज प्रायोजक नेपाल ल्युब आयल लिमिटेड रहेका छन्। कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालिले गर्नेछ।
सुविधा र सुरक्षाका लागि व्यापक व्यवस्था गरिएको छ। जोन विभाजन स्पष्ट गरिएको छ चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी साधन, अटो पार्ट्स, वित्तीय सेवा लगायतका छुट्टाछुट्टै खण्डमा प्रदर्शनी हुनेछ। मिडिया डेस्क पत्रकारहरूको समन्वयका लागि राखिनेछ भने ट्राफिक सूचना डेस्क महानगरीय ट्राफिक प्रहरी साझेदारीमा सञ्चालन हुनेछ। आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र अग्नि नियन्त्रणको व्यवस्था पनि गरिनेछ।
शोका प्रमुख आकर्षणहरूमध्ये एक हो, ‘विन्टेज मोटर शो’, जसमा ऐतिहासिक सवारी साधनहरू –मोरिस माइनर, फियाट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडीज बेन्ज, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोला, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता थुप्रै मोडेलहरूको प्रदर्शन गरिनेछ।
त्यस्तै, ‘मेड इन नेपाल पेभेलियन’ मा स्वदेशमै निर्माण गरिएका सवारी साधन तथा अटो पार्ट्सहरूको प्रदर्शनी गरिनेछ। अन्तर्राष्ट्रिय लगानी तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्टरनेशनल बिजनेस पेभेलियन पनि सञ्चालन हुनेछ। साथै, ‘सेमिनार, कार्यशाला र अन्तरक्रिया’ कार्यक्रममार्फत ईभी (इलेक्ट्रिक भेइकल), स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा गहन छलफल हुनेछ।
शो अवधिभर प्रत्येक दिन भाग्यशाली विजेताको घोषणा हुनेछ जसलाई नेपाल ल्युब आयल लिमिटेडको तर्फबाट एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्रदान गरिनेछ।
अध्यक्ष चौधरीले भने ‘कतिपयले आफूलाई ठूलो वा सबैभन्दा राम्रो भन्दै हल्ला गर्छन् तर नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताको बलमा आफैलाई स्थापित गरिसकेको छ।’ उनका अनुसार १६ संस्करणसम्म सफलतापूर्वक सञ्चालन भइसकेको नाडा अटो शो आज नेपालकै सबैभन्दा प्रतिष्ठित अटोमोटिभ मञ्चको रूपमा स्थापित भइसकेको छ।
नवप्रवर्तन अनुभव गर्न, सम्भावनाहरू अन्वेषण गर्न र भविष्यको मोबिलिटी अवलोकन गर्न नाडा अटो शो २०२५ एउटा अबसर हो। अध्यक्ष चौधरीले निष्कर्षमा भने, ‘हामीले हरेक वर्ष यो कार्यक्रम हर्षउल्लासका साथ मनाउने गरेका छौं। यसपालिको शो भने विशेष हुनेछ – यसले अटो व्यवसाय मात्र होइन, सम्पूर्ण मोबिलिटीको परिभाषा फेर्नेछ।’
नाडा प्रदर्शनी व्यवसायीहरूको चाँड हो, यो वर्ष भिन्न र आकर्षक हुन्छः चौधरी













