बजारमा भारी गिरावटः गुम्दै लगानीकर्ताको करोडौ लगानी, चलखेलपछि एक्जिट हुँदै माफिया!

काठमाडौँ । नेपाली शेयर बजारमा पुनः ठूलो गिरावट देखिएको छ । विगत तीन दिनसम्म राताम्य देखिएको बजारमा हिजो केही सुधारका संकेत देखिए पनि आज फेरी बजार राताम्य भएको हो ।
बजार भारी ओरालो लागेर लगानीकर्ताहरू चिन्तित भएका छन् । हालको बजार उतारचढावसँगै साना लगानीकर्ताहरूलाई थप जोखिममा पारेको छ भने बजारमा केही समूह र माफियाहरूले चालबाजी गरिरहेका छन् ।
पुँजी बजारमा सीमित व्यक्तिहरूको चलखेलका कारण बजारमा अस्थिरता बढेको छ । केही समूहहरूले बजारमा आएको गिरावटलाई ‘करेक्सन’ भन्दै लगानीकर्तालाई भ्रममा पारेर शेयर किनाउन लगाउने र आफूहरू फाइदा उठाएर बाहिरिने प्रवृत्ति दोहोरिरहेको छ । नवप्रवेशी र कम अनुभव भएका लगानीकर्ताहरू यस्तो चालमा फस्दै आफ्नो पूँजी गुमाउने खतरा बढिरहेको छ ।
हाल आएको मौद्रिक नीतिलाई लिएर पनि बजारमा भ्रम फैलाइएको छ । नीति केही सुधारात्मक भए तापनि बजारलाई द्रुतगतिमा उचाल्ने ठूलो नीतिगत परिवर्तन नदेखिए पनि केही समूहहरूले बजारले रेकर्ड कायम गर्ने आश्वासन दिँदै साना लगानीकर्तालाई फसाउने काम गरिरहेका छन् । दीर्घकालीन लगानीको माध्यमको सट्टा शेयर बजार अहिले सट्टेबाजीको केन्द्र बन्दै गएको र यसले धेरै लगानीकर्तालाई घाटा व्यहोर्न बाध्य पारिरहेको छ ।
यो अवस्था २०७८ भदौ २ गतेको सम्झनासँग मेल खान्छ, जब नेप्से ३१९८ अंकमा पुगेको थियो र माफियाहरूले बजार ५००० अंक पुग्ने भनी साना लगानीकर्तालाई फसाए । त्यसपछि बजार ओरालो लागेर १८०० अंकसम्म झरेको थियो जसले धेरैलाई आर्थिक संकटमा पु¥यायो । अहिले पनि त्यही खेल दोहोरिएको छ, जसले लगानीकर्ताहरूलाई सावधान हुन जरुरी बनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७८ अकंले घटेर २८३३.५७ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार विकास बैंकको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । आज विकास बैंकको शेयर मूल्य २.४६ प्रतिशतले घटेको हो । साथै, वाणिज्य बैंक समूहको १.०८ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशत, इन्भेष्टमन्ट समूहको १.७१ प्रतिशत र जीवन बीमा समूहको १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
हिमालयन रि र ट्रेड टावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
यसदिन ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ।













