अटो उद्योगको समुन्नति र स्थिर पोलिसीका लागि सरकार प्रतिबद्ध छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रमा भइरहेको प्रगतिको प्रशंसा गर्दै यसको दिगो विकासका लागि गुणस्तरीय सडक पूर्वाधार अपरिहार्य भएको बताएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता नै सडक स्तरोन्नतिमा रहेको बताए।
उनका अनुसार झापादेखि कञ्चनपुरसम्म सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ भने हुलाकी सडकलाई समेत गुणस्तरीय बनाउँदै लैजान सरकार संलग्न छ। ‘गुणस्तरीय सडक नभएसम्म अटो क्षेत्रको विकास हुन सक्दैन’ मन्त्री पौडेलले भने, ‘अहिले सरकार विभिन्न राजमार्ग सुधार तथा विस्तारमा लागिपरेको छ, बजेटमा समेत सडक पूर्वाधारमा विशेष जोड दिइएको छ।’ प्रदर्शनी केन्द्रको सन्दर्भमा बोल्दै उनले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण हुने जानकारी दिए।
‘अहिलेको अवस्थामा नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र छैन, तर चालु आर्थिक वर्षको बजेटले यो कमी पूरा गर्दैछ’ उनले स्पष्ट पारे, ‘भृकुटीमण्डपमा रहेको सम्पूर्ण क्षेत्र खाली गरी विस्तारित प्रदर्शनी केन्द्रको रुपमा निर्माण हुनेछ, आगामी २–३ वर्षमा यो केन्द्र तयार हुनेछ।’ नीति निर्माणप्रति सरकार गम्भीर रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रसँग व्यापक छलफल गरेर व्यवसायीमैत्री बजेट ल्याएको दाबी गरे।
‘सरकारको नीति अस्थिर होइन, स्थिरता दिने पक्षमा छ’ उनले भने, ‘ईभी क्षेत्रमा समेत सरकार राजस्व वृद्धिमा होइन, स्थायित्वमा केन्द्रित छ।’ उनले वर्तमान बजेटले रोजगारी सिर्जना, निजी क्षेत्रको मनोबल वृद्धिसँगै व्यवसायी वातावरण तयार गर्ने उद्देश्य लिएको उल्लेख गरे। ‘व्यवसायीबाट बजेट कार्यान्वयनमा सहयोग हुने विश्वास लिएको छु’ मन्त्री पौडेलले भने, ‘अनावश्यक विषय आए संशोधन गरेर अघि बढ्न तयार छौं।’
उनले केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक बन्दै गएको बताए। ‘सुधार नभएको कुनै क्षेत्र छैन, तर यति मात्र पुग्दैन’ मन्त्री पौडेलले भने, ‘अब आर्थिक क्षेत्रमा तीव्र सुधारको खाँचो छ, र सरकार यही उद्देश्यसाथ अघि बढिरहेको छ।’













