पुँजी बजारका लगानीकर्ता निराशः उतार-चढाबमा फसाउँदै माफिया, कस्को भइरहेको छ चलखेल ?

काठमाडौँ । मंगलबारको दिनभरि उतारचढावबीच नेप्से परिसूचक अन्ततः झिनो अंकले वृद्धि भएको छ । अघिल्लो दिनको भारी गिरावटपछि बजारले केही सुधार देखाए पनि लगानीकर्ताबीच अन्योल र जोखिमको वातावरण कायमै रहेको छ । बजारको अस्थिरताले गर्दा धेरै लगानीकर्ता अझै पनि सुरक्षित महसुस गर्न सकिरहेका छैनन् ।
बजारमा देखिएको ह्वात्तै घटबढको लहरले लगानीकर्ताको मनोबल कमजोर पारेको छ । केही सिमित व्यक्तिहरू वा माफियाजस्तै समूहहरूले योजनाबद्ध तरिकाले शेयर मूल्य घटाउने, लगानीकर्ता झुक्याएर आफ्नो शेयर बिक्री गरी बजारबाट बाहिरिने प्रवृत्ति दोहोरिरहेको देखिएको छ । यस्तो प्रवृत्तिको सिकार साना तथा अल्पज्ञान भएका लगानीकर्ताहरू भइरहेका छन् ।
पुँजी बजारमा सीमित समूहहरूको चलखेलले बजारलाई स्थायित्व प्रदान गर्न सकिरहेको छैन । केही व्यक्तिहरूले बजारमा आएको सामान्य करेक्सनलाई ठूलो अवसरको रूपमा प्रचार गरेर लगानीकर्तालाई भ्रममा पारिरहेका छन् । यस्तो गतिविधिका कारण नयाँ तथा अनुभवहीन लगानीकर्ताहरूको पूँजी जोखिममा परेको छ ।
यता, हालै सार्वजनिक मौद्रिक नीतिलाई लिएर पनि बजारमा विभिन्न भ्रम फैलाइएको छ । नीति सुधारमुखी भए पनि त्यो तत्काल बजारलाई बलियो बनाउने खालको नभए पनि केही समूहहरूले बजारले रेकर्ड तोड्ने जस्ता हल्ला फैलाएर लगानीकर्तालाई आकर्षित गरिरहेका छन् । नतिजास्वरूप, दीर्घकालीन सोचले नभई सट्टेबाजी प्रवृत्तिबाट बजार चलिरहेको देखिन्छ, जसले गर्दा धेरैले घाटा बेहोरिरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अकंले बढेर २८३६.३५ बिन्दुमा कायम भएको छ । आज २ करोड १६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।
मार्केट बढेपनि ८ उपसूचक राताम्य भएको छ । यसदिन ११२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ ।













