पुँजी बजार सुधारको एजेन्डामा लगानीकर्ता संघहरूको दबाब, बोर्ड अध्यक्षसँग छलफल

२१ श्रावण २०८२, बुधबार १६:२२

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विभिन्न लगानीकर्ता संघसंस्थाका प्रतिनिधिहरूबीच पुँजी बजारको विकास, विस्तार तथा सुधारका समसामयिक विषयमा छलफल सम्पन्न भएको छ। बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा आयोजित छलफलमा नेपाल शेयरधनी सङ्घ, नेपाल धितोपत्र लगानीकर्ता सङ्घ, साधारण लगानीकर्ता सङ्घ, जनरल इन्भेष्टर एशोसिएसन नेपाल, नेपाल शेयर बजार लगानीकर्ता सङ्घलगायत संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलमा अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन) कार्यान्वयनबारे व्यापक विमर्श गरिएको थियो। सो विषयमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले तयार पारेको निर्देशिका यथाशीघ्र लागू गर्नुपर्ने माग लगानीकर्ता संघसंस्थाले सामूहिक रूपमा अघि सारेका थिए।

संघसंस्थाका प्रतिनिधिहरूले समग्र पुँजी बजारको पारदर्शिता, सुरक्षा र संरचनात्मक सुधारका लागि साधारण, संस्थागत तथा अन्य प्रकारका शेयरहरूलाई अलग–अलग आईजीन प्रदान गर्नु अपरिहार्य रहेको स्पष्ट पारे। उनीहरूले यसले बजारमा स्पष्टता ल्याउनुका साथै लगानीकर्ताको हित संरक्षणमा योगदान पुग्ने बताए।

छलफलमा १५ मिनेटको भारित औसत मूल्य गणनाका क्रममा देखिएको प्राविधिक समस्याबारे पनि उठान गरिएको थियो। सो समस्याले बजारमा नकारात्मक असर पारेको भन्दै बोर्डले शीघ्र समाधानका लागि पहल गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।

बोर्ड अध्यक्ष श्रेष्ठले लगानीकर्ता संघसंस्थाका प्रतिनिधिहरूबाट उठाइएका विषय गम्भीरतापूर्वक लिइने र बजार सुधारका लागि आवश्यक कदम चालिने आश्वासन दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*