फक्सवागनका दुई पावरफुल मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली बजारमा भव्य प्रवेश

२१ श्रावण २०८२, बुधबार १७:३०

काठमाडौँ । नेपाली उपभोक्तालाई लक्षित गर्दै जर्मन ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभीलाई नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रा. लि. ले नाईमा अटो शो मार्फत सार्वजनिक गरेको छ। यी दुवै मोडलमा यस सेग्मेन्टमै सबैभन्दा पावरफुल मानिने १.५ लिटरको टर्बो पावर इन्जिन जडान गरिएको छ।

उच्च प्रदर्शन र सुरक्षाका लागि जर्मन प्रविधिबाट निर्मित यी गाडीले नेपाली ग्राहकलाई उत्कृष्ट पावर तथा सवारी अनुभव दिने कम्पनीको विश्वास छ। नाईमा अटो शोमा आयोजित सार्वजनिक कार्यक्रममा जर्मन दूतावासका महामहिम उदो भोल्जले यी गाडीको औपचारिक अनावरण गरेका थिए।

यी मोडलहरुमा अत्याधुनिक प्रविधिले सजिएको १५०० सिसिको टर्बोचार्ज्ड इन्जिन राखिएको छ, जुन दुई वा चार सिलिन्डरको संयोजनमा आवश्यकताअनुसार सञ्चालन हुन्छ। यस इन्जिनबाट १५० हर्सपावरको अधिकतम पावर उत्पादन गर्न सकिने भएकाले इन्धन खपतमा समेत दक्ष रहेको जनाइएको छ।

सुरक्षाको कुरा गर्दा, वट्रस जि टी सेडान र टाईगुन एसयूभी दुवैले विश्वस्तरको NCAP सुरक्षा मूल्याङ्कनमा पाँचतारे मान्यता प्राप्त गरेका छन्। यी गाडीले चालक र यात्रु दुवैका लागि उच्चस्तरीय सुरक्षा प्रदान गर्छन्।

फक्सवागन वट्रस सेडान भएपनि यसले १८० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जुन हाल नेपालमा उपलब्ध थुप्रै एसयूभीभन्दा बढी हो। यसले गर्दा नेपालको अप्ठ्यारो र उबड-खाबड सडकमा समेत सहजै सञ्चालन गर्न सकिने विशेषता राख्छ। बलियो च्यासिस, शक्तिशाली इन्जिन र उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा वट्रस सबै किसिमका सडकका लागि उपयुक्त सावित हुने विश्वास कम्पनीको छ।

त्यस्तै, टाईगुन एसयूभी पनि नेपाली भौगोलिक अवस्थासँग मेल खाने गरी डिजाइन गरिएको छ। यसमा १८८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र अत्याधुनिक सेभेन-स्पिड गियरबक्स प्रयोग गरिएको छ। साथै, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल जस्ता सुरक्षा फिचरहरुले यो मोडललाई अझ भरपर्दो बनाएको छ।

यसै कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी उत्पादक कम्पनीका प्रतिनिधि सेल्जि जोजेफले भारतका सडक र पेट्रोलको गुणस्तरलाई ध्यानमा राखी निर्माण गरिएको यी गाडीहरु नेपालका लागि पनि उत्तिकै उपयुक्त हुनेमा विश्वास व्यक्त गरे। साथै, भारतमा उपलब्ध स्पेयर पार्ट्स मूल्यको समानताका कारण नेपालमा पनि मर्मत खर्च न्यून रहने कुरामा उनले विश्वास दिलाए।

आयातकर्ता संस्था पूजा ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिवेक विजुक्छेले फक्सवागनले नेपाली बजारमा जर्मन इन्जिनियरिङ्गको उत्कृष्टता प्रदर्शन गर्दै पावरफुल इन्जिनका साथ नयाँ मोडल ल्याएको उल्लेख गरे। उनले विगतमा प्राप्त उपभोक्ताको साथ र समर्थन भविष्यमा पनि प्राप्त हुने आशा व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*