यातायात व्यवस्थाका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
२१ श्रावण २०८२, बुधबार १७:५५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेलले सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो।
पौडेलले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रिया छिटो गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उनले अनलाइन फारम भरेर दिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा समेत पास गरिदिने प्रलोभन देखाउँदै पैसा मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आयोगका अनुसार, पौडेलले सवारी चालक अनुमतिपत्रको अवधि नपुगी फारम भरिदिने जस्ता अनियमित कार्य गर्दै बदनियतपूर्वक रकम लिएको पुष्टि भएपछि उनलाई रंगेहात पक्राउ गरिएको थियो।













