सुधारिंदै लघुवित्तको वित्तचित्रः खुद नाफा १४३ प्रतिशतले बढ्यो, ईपीएसको अवस्था कस्तो?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/८२ सकिएसँगै लघुवित्त कम्पनीहरूले धमाधम आफ्नो गत आवको चौथो (अन्तिम) त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्।
चार दर्जनभन्दा बढी लघुवित्त कम्पनीमध्ये २० वटा कम्पनीले भने आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। तिनै २० वटा कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) केलाउँदा कम्पनीहरूको वित्तीय अवस्था बलियो बन्दै गइरहेको पाइएको हो।
२० वटा लघुवित्त कम्पनीहरूले गत आवको अन्त्यसम्म १ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन्। जबकी अघिल्लो आवको अन्यसम्म यिनै कम्पनीहरूले जम्मा ६५ करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा गर्न सकेका थिए। यसरी एक आवमै कम्पनीहरूको खुद नाफा १४३.८७ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो।
अघिल्लो वर्ष खुद नाफा ऋणात्मक भएका कम्पनीहरूले समेत सुधार गरेर नाफा कमाउन सफल भएका छन्। हिमालयन लघुवित्त, उन्नती सहकार्य लघुवित्त र उपकार लघुवित्तको खुद नाफा अघिल्लो आव ऋणात्मक भए तापनि गत आव धनात्मक भएको छ।
यी २० कम्पनीमध्ये गत आवमा सर्वाधिक खुद नाफा कमाउने कम्पनीमा आशा लघुवित्त अग्रस्थानमा रहेको छ। कम्पनीले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी दोस्रोमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ, सीवाईसी नेपाल लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ, कालिका लघुवित्तले १० करोड ८० लाख रुपैयाँ र आरएसडीसी लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन्।

त्यसपछि क्रमैसँग आरम्भ चौतारी, इन्फिनिटी, हिमालयन, समता घरेलु, मिथिला, स्वाभिमान, उन्नती सहकार्य, सर्पोट, आत्मनिर्भर, गणपति, गुराँस, उपकार, समाज र स्वस्तिक लघुवित्त रहेका छन्।
वृद्धिदरको आधारमा
त्यस्तै अघिल्लो आवको तुलनामा गत आवको वृद्धिदरको आधारमा हेर्ने हो भने आरम्भ चौतारी लघुवित्तको नाफा १३ हजार ७८५ प्रतिशतले वृद्धि भएको तथ्यांकमा देखिएको छ।
त्यसैगरी दोस्रोमा स्वाभिमान लघुवित्तको ८१९ प्रतिशत तेस्रोमा महुली लघुवित्तको २५५.८० प्रतिशत चौथोमा आशा लघुवित्तको २४८.२८ प्रतिशत र पाँचौंमा समता घरेलु लघुवित्तको २४०.९१ प्रतिशतले खुद नाफा वृद्धि भएको छ।

त्यसपछि क्रमशः आत्मनिर्भर, सीवाईसी नेपाल, गणपति, समाज, सर्पोट, इन्फिनिटी, स्वस्तिक, गुराँस, मिथिला, कालिका, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त रहेका छन्।
प्रतिशेयर आम्दानी (ईपीएस)
यी २० कम्पनीहरूको प्रतिशेयर आम्दानीलाई हेर्ने हो भने पनि केही कम्पनी बाहेक सबैको वृद्धि भएको छ। आरएसडीसी लघुवित्तको ईपीएस ५.०३ रुपैयाँले र फर्स्ट माइक्रोफाइनान्सको १.६१ रुपैयाँले घटेको छ भने समाज लघुवित्तको ६२.१० रुपैयाँ ऋणात्मक रहेको छ। यता अघिल्लो वर्ष ईपीएस ऋणात्मक भएको ३ कम्पनीको भने गत वर्ष धनात्मक भएको छ।

सबैभन्दा धेरै ईपीएस हुनेमा स्वाभिमान लघुवित्तको ४७.१५ रुपैयाँ, सीवाईसी नेपाल लघुवित्तको ४४.०९ रुपैयाँ, सपोर्ट लघुवित्तको ४१.८१ रुपैयाँ र मिथिला लघुवित्तको ३७.५८ रुपैयाँ ईपीएस छ।
वृद्धिदरको आधारमा
कम्पनीहरूको ईपीएस वृद्धिदरको आधारमा हेर्ने हो भने स्वाभिमान लघुवित्तको सर्वाधिक ४१.७६ रुपैयाँले दोस्रोमा सीवाईसी नेपालको २९.७९ रुपैयाँले तेस्रोमा आरम्भ चौतारी लघुवित्तको २५.५३ रुपैयाँले, चौथोमा सर्पाेट लघुवित्तको २४.४३ रुपैयाँले र पाँचौमा महुली लघुवित्तको २०.९८ रुपैयाँले ईपीएस वृद्धि भएको छ।

त्यसैगरी क्रमशः आशा, गणपति, गुँरास, स्वस्तिक, मिथिला, इन्फिनिटी, समता, कालिका, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्त रहेका छन्।













