सिद्धार्थ बैंकको वित्तीय विवरणमा प्रगतिः नाफासँगै इपीएस बढ्यो, लाभांश क्षमतामा उच्च वृद्धि

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.२४ प्रतिशतले वृद्धि भएको छ।
बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म बढेर ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ।
त्यसैगरी बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९३ करोड रुपैयाँबाट बढेर झण्डै ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। यता कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
बैंकले अघिल्लो वर्ष ४ अर्ब ४८ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएकोमा गत वर्ष बढेर झण्डै ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। यसरी बैंकको ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न मद्दत पुगेको हो।
अघिल्लो वर्ष बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २१.८६ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २४.१० रुपैयाँ पुगेको छ। खराब कर्जा (एनपीएल) पनि २.१७ प्रतिशतबाट सामान्य बढेर २.६२ प्रतिशत कायम भएको छ।
चुक्ता पूँजी १४ अर्ब रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) ५८ करोड रुपैयाँबाट २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ नाघेको छ। बैंकको रिजर्भमा १५ अर्ब रुपैयाँ रहेको छ।
बैंकले २ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेर त्यसबाट २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ।












