गाडी आयातमा कडाईः अब यूरो ६ मापदण्डबाहेकका गाडीको एलसी खोल्न बैंकहरूले नपाउने

२३ श्रावण २०८२, शुक्रबार १२:१२

काठमाडौँ । सवारी साधन आयातमा नयाँ कडाई लागू गरेको छ । नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ जारी भएसँगै राष्ट्र बैंकले समेत सो व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र जारी गर्दै २०८२ को मापदण्डमा नपर्ने सवारी साधन आयातका लागि प्रतितपत्र (एलसी) खोल्न रोक लगाएको छ ।

संशोधित व्यवस्थाअनुसार निर्माता कम्पनी वा निजको आधिकारिक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन् । रिकण्डीसन, प्रयोग भइसकेका वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायतका अन्य साधनहरू पैठारी गर्न पाइने छैन ।

यद्यपि, परिपत्रमा केही विशेष अवस्थामा छुटको व्यवस्था गरिएको छ । सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा संस्था र ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी परियोजनाले ल्याउने गाडीहरूमा यो कडाइ लागू हुने छैन ।

त्यस्तै, दमकल (वारुणयन्त्र) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसारको एम्बुलेन्स, शीर्षक ८७.०१ अन्तर्गत पर्ने ट्याक्टर, शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटरगाडी साथै नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वका सभा सम्मेलनका प्रयोजनका लागि मन्त्रिपरिषद्ले निर्णय गरी पैठारी गर्ने सवारी साधनमा पनि सो प्रावधान लागू हुने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*