बजारमा उतार-चढाबः लहलहैमा फस्दा लगानीकर्ताको मनोबल कमजोर, कस्ता कुरामा ध्यान दिने ?

२३ श्रावण २०८२, शुक्रबार १३:५७

काठमाडौँ । शेयर बजारमा यस साता धेरै उतार चढाब देखिएको छ । साताका पाँच कारोबारमा ३ दिन बजार घटेको छ भने २ दिन बढेको हो ।

यो साता शेयर बजार परिसूचक नेप्से २.४७ प्रतिशतले घटेर २९२२.६३ बाट २८५०.३७ अंकमा झरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा कुल ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो भने बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

साताको पहिलो दिन आइतबार सबैभन्दा धेरै १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने बुधबार सबैभन्दा कम ७ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको देखियो । यसैअनुसार, साप्ताहिक दैनिक औसत कारोबार ९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

नेप्से उप–सूचकांक यस हप्तामा ५.२५ प्रतिशतले घटेको छ । विकास बैंक र निर्जीवन बीमाको सूचकांक पनि क्रमशः ४.४२ र ३.४३ प्रतिशतले घटेका छन् ।

यस साता सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरूमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड १८.२६ प्रतिशत कारोबार वृद्धि लिएर पहिलो स्थानमा रह्यो । दोस्रो स्थान सिक्लेस हाइड्रोपावर लिमिटेडको १४.२६ प्रतिशतले शेयर मूल्य बढेको छ भने तेस्रो स्थानमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको शेयर मूल्य १४.०४ प्रतिशतले बढेको छ ।

तर, केही कम्पनीहरूले ठूलो गिरावट भोगेका छन् । सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य १३.२८ प्रतिशतले घटेको छ । त्यसपछि ग्रीन भेन्चर्स लिमिटेड १०.३० प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड ९.६७ प्रतिशतले शेयर मूल्य गुमाएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरूको सूचीमा हिमालयन पुनर्बीमा लिमिटेडले २ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार गरेपछि अग्रता लिएको छ । शिवम् सिमेन्ट लिमिटेडको कारोबार १ अर्ब ९३ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १ अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको छ ।

कस्तो होला अबको यात्रा ?

चालु आर्थिक वर्ष २०८२/८३ मा मौद्रिक नीतिको नाममा शेयर बजारमा ठूलो उछाल आयो । त्यो बेला नेप्से परिसूचक २५००–२७०० अंकको आसपास थियो । मौद्रिक नीतिको घोषणा भएपछि आठ दिनसम्म लगातार वृद्धिसँगै परिसूचक ३००० अंक नाघ्यो । तर, यो वृद्धि स्वाभाविक वा दीर्घकालीन थिएन । बजारमा अचानक आएको यस्तो उछाललाई धेरैले मौद्रिक नीतिको प्रभाव मान्दा पनि वास्तविकता भने फरक देखिएको छ ।

केही समूहहरूले नियोजित रूपमा बजारलाई उचालेर नयाँ लगानीकर्तालाई आकर्षित गर्ने रणनीति अपनाएका थिए । यसले बजारलाई वास्तविक आर्थिक आधार बिना मात्र झटपटमा वृद्धिको झल्को दिएको थियो । यो अवस्था २०७८ साल भदौ २ गतेको स्थितिसँग समान देखिन्छ, जब नेप्से ३१९८ अंक पुगेको थियो । त्यतिबेला पनि माफियाहरूले बजारलाई ५००० बिन्दु पुग्ने प्रचार गरी साना लगानीकर्तालाई आकर्षित गराए । आफूहरू भने फाइदा लिएर बाहिरिएका थिए । त्यसपछि बजार ठूलो गिरावटमा पुगेपछि हजारौं साना लगानीकर्ताहरू कंगाल बनेका थिए कसैले ऋणको भार खेप्नुपरेको थियो त कसैले आत्महत्या गर्न बाध्य भएका थिए ।

हालको बजार स्थितिमा पनि त्यही पुरानो प्रवृत्ति दोहोरिएको छ । मौद्रिक नीतिमा उत्पादनमुखी क्षेत्रहरूमा लगानी प्रवाह बढाउने कुनै स्पष्ट योजना नहुँदा अनुत्पादक क्षेत्रमा मात्र लगानीका संकेत देखिएका छन् । रियल स्टेट, व्यक्तिगत ऋण, शेयर कर्जा जस्ता क्षेत्रमा बढी लगानी हुने देखिनुले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा असन्तुलित बनाउन सक्ने खतरा बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा हाल लगानी योग्य रकम करिब ७०० अर्ब रुपैयाँ रहेको अवस्थामा सरकारले कुल ५०० अर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था छ । यस्तो ठूलो वित्तीय खाडल व्यवस्थापनका लागि कुनै स्पष्ट योजना मौद्रिक नीतिमा देखिँदैन ।

मौद्रिक नीतिमा ब्याजदर घटाउने निर्णय गरिएको छ तर बजारमा ब्याजदर पहिले नै कम भइसकेको छ । यस्तो अवस्थामा निक्षेपकर्ताले बैंकमा पैसा राख्न कम इच्छुक हुने सम्भावना छ, जसले बैंकहरूको लगानी क्षमता र ऋण प्रवाहमा असर पु¥याउन सक्छ । तर यस किसिमका सम्भावित नकारात्मक असरहरूलाई ध्यानमा नदिई गरिएका निर्णयहरू जोखिमपूर्ण देखिन्छन् ।

शेयर बजारको उतारचढाव स्वाभाविक प्रक्रिया हो तर पछिल्लो समय बजारको उतारचढाव नियन्त्रणमा रहेजस्तो देखिनुले बजारमा माफियाहरू सक्रिय रहेको सङ्केत दिन्छ । मौद्रिक नीतिको नाममा केही सीमित लाभलाई उचालेर बजार बढाउने, पछि माफियाहरूले आफ्नो नाफा लिएर बाहिरिने र पछाडि रहेका लगानीकर्ताहरू घाटामा पर्ने अवस्था दोहोरिन थालेको छ ।

नेपालको शेयर बजारमा हाल नीतिगत अपारदर्शिता, कमजोर नियमन, लगानी शिक्षा अभाव र साना लगानीकर्ताहरूको लगातार शोषण भइरहेको छ । यसले समग्र बजारलाई अस्थिर बनाएको छ । नियामक निकायहरूले पनि साना लगानीकर्तालाई चेतावनी दिने मात्र गर्छन् तर माफियाहरूलाई नियन्त्रण गर्ने काम प्रभावकारी रूपमा हुन सकेको छैन । यसले बजारप्रति जनविश्वासमा कमी ल्याएको छ ।

लगानी गर्दा आगामी रणनीतिमा देशको राजनीतिक परिवेशलाई समेत विचार गर्न आवश्यक छ । नत्र माफियाहरूको चलखेलमा सजिलै फस्ने सम्भावना रहन्छ । बजार करेक्सन हुँदै अघि बढ्नु आवश्यक छ, नत्र करेक्सन बिना अचानक बढेको बजार कुनै पनि बेला फुट्न सक्ने खतरा रहन्छ ।

लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा बजारको सतही वृद्धिमा मात्रै विश्वास नगरी आर्थिक र राजनीतिक वातावरणलाई बुझ्नु आवश्यक छ । दीर्घकालीन उत्पादनमुखी क्षेत्रहरूमा लगानी प्रवाह हुनुपर्नेछ भने अनुत्पादक क्षेत्रहरूमा केन्द्रित पूँजी जोखिमपूर्ण हुन्छ । साथै, लगानी गर्दा बजारको अस्थिरता र नियामक निकायको कमजोरीलाई पनि ध्यान दिनु पर्छ । साना लगानीकर्ताले माफिया र दिगो योजना बिना गरिएको बजार उछालमा सजिलै फस्न सक्छन्, त्यसैले राम्रो लगानी शिक्षा र रणनीतिका साथ मात्र जोखिम कम गर्न सकिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*