रसुवा बाढीले पुर्याएको क्षतिमा १ अर्बको बीमा दावी, कुन कम्पनीको कति ?

काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट झण्डै एक अर्ब रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँको बीमा दावी परेको छ । कम्पनीहरुमा कुल ७८ वटा बीमा दावी परेका छन् । यो तथ्यांक साउन २२ गतेसम्मको हो ।
तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा दुई वटा बीमा दावी वापत ५५ करोड रुपैयाँको दावी परेको छ । साथै, शिखर इन्स्योरेन्समा १५ वटा दावी वापत १६ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ वटा दावी बापत आठ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्समा छ वटा बीमा दावी बापत छ करोड ८४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको सार्वजनिक विवरणले देखाएको छ ।
नेको इन्स्योरेन्समा पाँच वटा दावी वापत पाँच करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई वटा दावी वापत दुई करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दावी वापत ९१ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १० वटा बीमा दावी वापत ७६ लाख ७० हजार रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दावी वापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सात वटा दावी वापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
तथ्यांक अनुसार साउन २२ गतेसम्म सम्पत्ति बीमामा ६ वटा दावी वापत ६१ करोड ४७ लाख रुपैयाँ, सामुन्द्रिक बीमामा नौ वटा दावी वापत २२ करोड चार लाख रुपैयाँ, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा पाँच दावी वापत पाँच करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) मा ४२ वटा दावी वापत तीन करोड ५५ लाख रुपैयाँ र मोटर बीमा (निजि) मा १६ दावी वापत पाँच करोड ५८ लाख रुपैयाँ बीमा दावी परेको छ ।
नियामक निकाय बीमा प्राधिकरणले सबै विवरण संकलन गरी सक्दो चाँडो बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।













