सिटिजन्स बैंकको वितरणयोग्य नाफा २६ प्रतिशत बढ्यो, आम्दानीमा पनि वृद्धि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको वितरणयोग्य नाफा बढेको हो।
अघिल्लो आवको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख रुपैयाँ मात्रै रहकोमा गत आवको अन्त्यसम्म २६.४५ प्रतिशतले बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्ष ५ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा गत वर्ष ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी पनि ७ अर्ब ५ करोड रुपैयाँबाट १५.१३ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
आम्दानी बढे तापनि बैंकको खुद नाफा भने सामान्य घटेको छ। अघिल्लो बैंकको खुद नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा गत वर्ष २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा झरेको छ।
त्यस्तै बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष २ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गत वर्ष सामान्य घटेर २ अर्ब रुपैयाँमा झरेको छ। योसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९.३० रुपैयाँबाट घटेर ८.७६ रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८७ करोड ९३ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब १४ करोड रुपैयाँ सञ्चिती रहेको छ।
यस बैंकले १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।













