पोखरामा अवैध सुनचाँदी कारोबारको पर्दाफास : ११ भारतीय ६ किलो सुनसहित पक्राउ

काठमाडौं । कास्कीको पोखरामा प्रहरीले अवैध सुन कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई ६ किलो ४ सय ग्राम सुनसहित पक्राउ गरेको छ । भारतको महाराष्ट्र र पश्चिम बङ्गालका स्थायी बासिन्दा रही पोखराका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरूलाई शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । पक्राउ परेकासँगै नगद ५ लाख १४ हजार रुपैयाँ पनि बरामद भएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो । सो क्रममा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको साथबाट बरामद सुनको बजार मूल्य ११ करोड १ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी उनीहरूबाट ४४४ तोला चाँदी समेत बरामद गरिएको छ । प्रहरीले बरामद गरिएको सुन, चाँदी र नगदसहित घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि तयारी गरेको छ ।













