वित्तीय रुपमा अब्बल बन्दै नागरिक लगानी कोषः वर्षदिनमा १ अर्ब २५ करोड नाफा आर्जन, अन्य सूचक कस्ता ?

२५ श्रावण २०८२, आईतवार ११:११

काठमाडौँ । नागरिक लगानी कोष वित्तीय रुपमा थप अब्बल बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचक सकारात्मक भइरहेको देखिएको हो ।

गत आर्थिक वर्षभरमा कोषले १ अर्ब २५ करोड ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा १३.७१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब १० करोड २४ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्मको अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेर ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने उक्त आम्दानी ४४ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

यता, कोषको सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढेर १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पु्गेको छ भने कुल आम्दानी ८.९६ प्रतिशत बढेर २ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको खर्च ६.७७ प्रतिशत घटेर ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको भने कम्पनीको खर्च ४५ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ ।

साथसाथै, कोषको चुक्ता पूँजी २२ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ र जगेडा कोष १०.८२ प्रतिशतले बढेर २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*