नाइमा नेपाल मोबिलिटी एक्स्पोः दुई पांग्रे सवारीमा युवाको भीड, कुन ब्रान्डको मूल्य कति?

काठमाडौँ । काठमाडौँमा धमाकेदार रूपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले देशभरका मोटरसाइकल र स्कुटर प्रेमीलाई एकै ठाउँमा खिचेको छ। साउन २१ गतेदेखि सुरु भइसकेको यो भव्य प्रदर्शनीमा देश-विदेशका अग्रणी ब्रान्डहरूबाट नवीनतम र अत्याधुनिक दुई पांग्रे सवारी साधनहरू एकसाथ हेर्ने अवसर मिलिरहेको छ।
प्रदर्शनीमा सहभागी १५ भन्दा बढी ब्रान्डले युवाको साहसिक चाहना, व्यावसायिक आवश्यकतादेखि दैनिक यात्राको सहजतालाई ध्यानमा राखी विभिन्न मोडेलहरू प्रस्तुत गरेका छन्। अत्याधुनिक प्रविधि, दमदार प्रदर्शन र आकर्षक डिजाइनसहितका यी मोडेलहरूले नेपाली बजारमा नयाँ लहर ल्याउने संकेत दिँदै मोटरसाइकल संसारलाई अझ रोचक बनाइरहेका छन्।
मेलामा पेट्रोल र विद्युतीय दुवै प्रकारका सवारी साधनहरूका बीच प्रतिस्पर्धा देखिएको छ तर इलेक्ट्रिक मोडेलको उपस्थिति र प्रभाव स्पष्ट रूपमा देखिन्छ। धेरै कम्पनीहरूले जीपीएस, एआई, फास्ट चार्जिङ, स्मार्ट कनेक्टिभिटी र डुअल ब्याट्रीजस्ता प्रविधियुक्त मोडेल बजारमा उतारेका छन्। वातावरणीय चिन्ता, बढ्दो इन्धन मूल्य र प्रविधिप्रेमी उपभोक्ताको मागबीच प्रस्तुत यी उत्पादनहरूले इभि प्रवृत्तिलाई थप बल पुर्याउने सम्भावना छ।

केटीएम ब्रान्डका लागि नेपालको अधिकृत वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले यस पटक एकैपटक ६ नयाँ मोडेल प्रस्तुत गरेको छ। मूल्य सूची हेर्दा ३९० एन्ड्युरो आरको मूल्य १० लाख रुपैयाँ, ३९० एड्भेन्चर एसको १० लाख ७५ हजार, २०० ड्यूकको ५ लाख ९९ हजार ९००, २५० ड्यूकको ७ लाख १४ हजार ९००, ३९० ड्यूकको ९ लाख ४९ हजार ९०० र २५० एड्भेन्चरको ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ।
टीभीएसको नेपाली वितरक जगदम्बा मोटर्सले नयाँ आरटीआर ३१० प्रदर्शनमा राखेको छ भने एनटर्क १२५ स्कुटर दुई नयाँ रंगमा सार्वजनिक गरिएको छ। एनटर्क १२५ को मूल्य २ लाख ८२ हजार ९०० रुपैयाँ तोकिएको छ। आरटीआर ३१० को मूल्य भने हालसम्म घोषणा गरिएको छैन। साथै, आरआर ३१० (२०२५ संस्करण) र रोनिनका दुई कस्टम भेरियन्ट पनि प्रदर्शनमा छन्।

बेनेली ब्रान्ड अन्तर्गत केटीएम इन्टरनेशनलले मोर्बीडेली नामका दुई नयाँ एड्भेन्चर बाइक प्रस्तुत गरेको छ। मोर्बीडेली २५२ को मूल्य ५ लाख ७५ हजार रुपैयाँ र मोर्बीडेली ३५२ को मूल्य ९ लाख ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ।
याडिया ब्रान्डका लागि नेपालमा अधिकृत वितरक कुजु नेपालले पहिलोपटक विद्युतीय मोटरसाइकल ‘किनेस’ र स्कुटर ‘भेलेक्स’ प्रस्तुत गरेको छ। किनेसको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ भने भेलेक्स स्कुटरको तीन भेरियन्टको सुरुवाती मूल्य २ लाख ८५ हजार रुपैयाँ राखिएको छ।
अग्नि मोटोइन्कले बीजी इलेक्ट्रिक ब्रान्ड अन्तर्गत चार नयाँ स्कुटर सार्वजनिक गरेको छ। तीमध्ये आरयूभी ३५० आइइएक्सको मूल्य २ लाख ७९ हजार ४००, आरयूभी म्याक्सको ३ लाख २५ हजार ३००, सी१२ आइइएक्सको २ लाख २८ हजार ४०० र सी १२ म्याक्स ३.० को ३ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ।
सेगवेले यसपटक दुई विद्युतीय बाइक र दुई स्कुटर बजारमा उतारेको छ। साइबर ई–बाइकको मूल्य ५ लाख ५५ हजार, सफारीको ३ लाख ५० हजार, ई १२५ एमके २ स्कुटरको ३ लाख ५० हजार र ई१५० एमके २ स्कुटरको ५ लाख रुपैयाँ निर्धारण गरिएको छ।
विद्युतीय सवारी क्षेत्रमा चर्चित एथर र बजाज चेतकले पनि यस मेलामा सहभागिता जनाएका छन्। एथरको रिज्टा स्कुटरको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकिएको छ भने बजाज चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।













