भृकुटीमण्डपमा बीवाईडी ‘एट्टो–वान’ को धमाका : ६ सय युनिट बुकिङ

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडीको नयाँ बजेट ईभी ‘एट्टो–वान’ ले ग्राहकहरूलाई लोभ्याउँदै करिब ६ सय युनिट बुकिङ गरिसकेको छ । बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार आइतबार मात्रै २५० युनिट बुकिङ भएको हो ।
स्टलमा भएको भीड व्यवस्थापन गर्न आयोजकलाई समेत हम्मेहम्मे परेको छ । भर्खरै सार्वजनिक भएको ‘एट्टो–वान’ हेर्न, बुझ्न र तत्काल बुकिङ गर्न आएका दर्शकहरूका कारण यस्तो भीड देखिएको श्रेष्ठको भनाइ छ । उनले एक्स्पोको अन्तिम दिनसम्म पनि उस्तै भीड रहेको र यो संख्यामा बुकिङ हुनु आफैंमा रेकर्ड भएको बताइन् ।
कम्पनीका अनुसार यो सफलता लामो समयदेखि उपभोक्ताले देखाउँदै आएको माग र कम्पनीको सही समयको रणनीतिले सम्भव भएको हो । बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार साढे दुईदेखि तीन वर्षसम्म उपभोक्ताले सानो, गुणस्तरीय र बजेटमै अट्ने विद्युतीय कारको अपेक्षा गरेका थिए, जसलाई एट्टो–वानले पूरा गरेको हो ।
सेल्स म्यानेजर श्रेष्ठले यस मोडेलको सफलताको कारणका रूपमा कम्प्याक्ट साइज, आधुनिक फिचर, आकर्षक मूल्य र सजिलो फाइनान्सिङ सुविधालाई उल्लेख गरिन् । स्ट्यान्डर्ड रेन्ज (डाइनामिक भेरियन्ट) को मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । सुरुमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी १७ लाख ३७ हजार रुपैयाँ ७ वर्षका लागि बैंक कर्जाबाट तिर्न सकिने व्यवस्था गरिएको छ । हालको औसत ७.५ प्रतिशत ब्याजदरअनुसार मासिक किस्ता करिब २६ हजार ६५० रुपैयाँ पर्छ, जसले मध्यमवर्गीय परिवारलाई पनि ईभीको मालिक बन्न सहज बनाएको कम्पनीको दाबी छ ।
एट्टो–वान एक अर्बन ह्याचब्याक हो, जसलाई सहरका घुम्ती र चापयुक्त सडकका लागि विशेष डिजाइन गरिएको छ । यसमा ३०.०८ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग भएको छ, जसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेन्ज दिन्छ । ४५ किलोवाटको मोटरले दैनिक सहर यात्राका लागि आवश्यक शक्ति प्रदान गर्छ ।
३९२० एमएम लम्बाइ र २५०० एमएम ह्वीलबेसले यसलाई साँघुरो ठाउँमा पनि सजिलै चलाउन र पार्किङ गर्न सहज बनाउँछ । बजेट मूल्य भए पनि फिचरमा सम्झौता नगरिएको दाबी कम्पनीको छ । क्याबिनमा १०.१ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, नेभिगेसन र अन्य स्मार्ट फिचरहरू छन् । चालकको अगाडि ७ इन्चको डिजिटल डिस्प्ले छ, जसले गति, ब्याट्री लेभल र रेन्जबारे जानकारी दिन्छ ।













