नासा सेक्युरिटिजको ऐतिहासिक प्रायोजन डिल: ७ करोडमा क्रिकेटसँग नयाँ यात्रा

काठमाडौं । नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जर्सी प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आज ३ वर्षका लागि ७ करोड ८ लाख रुपैयाँको सम्झौता भएको हो ।
सम्झौताअनुसार नासाले वार्षिक २ करोड ३६ लाख रुपैयाँ क्यानलाई उपलब्ध गराउनेछ । यो रकम नेपाली खेलकुद इतिहासमै जर्सी प्रायोजनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसअघि क्यानले माई सेकेन्ड टिचरसँग वार्षिक ७७ लाखको सम्झौता गरेको थियो । नयाँ सम्झौता भने राष्ट्रिय सिनियर पुरुष क्रिकेट टोलीका लागि मात्र लागू हुने क्यानका प्रवक्ता छुम्पी लामाले जनाएका छन् ।
नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले यो सम्झौता कम्पनीको नेपाली क्रिकेटप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए । ‘यो सुरुवात मात्र हो, भविष्यमा पनि नेपाली क्रिकेटको विकासका लागि नासा थप उत्साहका साथ अघि बढ्नेछ,’ उनले भने ।
कार्यक्रममा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ जसको अगाडिको भागमा ‘नासा’ लेखिएको छ ।












