नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ः एक लाखले गरे अवलोकन, ‘मेला सोचेभन्दा उत्कृष्ट भयो’

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ गत बुधबारदेखि सोमबारसम्म करिब ६ दिनसम्म चलेको छ । राजधानीमा सम्पन्न यो एक्स्पोमा करिब १ लाख जनाभन्दा बढी आवलोकनकर्ताले सहभागिता जनाएका थिए । नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पोलाई अत्यन्त सफल सावित भएको बताउँदै यो पहिलो पटकका लागि यति ठूलो जनसम्पर्क र चहलपहल हुने अपेक्षा नगरेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘यसले अटोमोबाइल उद्योगको नयाँ दिशा तय गर्ने मात्र होइन, उपभोक्ता र उद्योगबीचको अन्तरक्रिया थप मजबुत बनाउने कार्य गरेको छ । हामीले नयाँ गाडी, प्रविधि र सेवा सम्बन्धी जानकारी उपभोक्तासम्म पुर्याउने अवसर प्राप्त गर्यौं, जसले उद्योगलाई थप प्रोत्साहन मिल्नेछ ।’
मेलामा नेपालभर परिचित ५० भन्दा बढी ब्रान्डका गाडी, मोटरसाइकल, इलेक्ट्रिक सवारी र अन्य मोबिलिटी समाधान प्रदर्शित गरिएका थिए । यस वर्ष ३५ वटा नयाँ मोडेल सार्वजनिक गरिए जसमा विद्युतीय सवारी साधन र आधुनिक प्रविधि भएका गाडीहरू प्रमुख थिए । यसले नेपालको अटोमोबाइल बजारमा नवीनतम ट्रेन्ड र प्रविधि थप फैलिने संकेत दिएको छ ।
विशेष गरी विद्युतीय सवारी साधनका क्षेत्रमा थप जागरुकता र रुचि देखिएको थियो । उद्योगमा दिगोपना र वातावरणीय प्रभाव कम गर्ने दिशामा यो एक्स्पोले योगदान पुर्याएको आयोजकले बताएका छन् ।

मेलाको अवधिभर प्रदर्शनीस्थलमा विभिन्न कम्पनीका स्टलहरूमा घुइँचो लागिरह्यो । अन्तिम दिन बाजागाजासहित भव्य समारोह गरी एक्स्पो समापन गरिएको थियो ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोले नेपालको अटोमोबाइल उद्योगलाई समृद्ध बनाउने तथा वातावरणमैत्री सवारी साधनको प्रयोग बढाउने दिशामा थप गति ल्याउने विश्वास गरिएको छ ।













