एनएमबि बैंकको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, आम्दानीमा पनि वृद्धि

२७ श्रावण २०८२, मंगलवार ०७:१७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्ष लोभलाग्दो प्रगति गरेको देखिएको छ।

बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेकोमा गत आवको असार मसान्तसम्म ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ नाघेको छ।

त्यसैगरी अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ५१ करोड रुपैयाँबाट १४.३४ प्रतिशतले बढेर १० अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै अघिल्लो वर्ष ३ अर्ब २५ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको बैंकले गत वर्ष भने ६४.४६ प्रतिशतको वृद्धि सहित ५ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ।

योसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १२.२२ रुपैयाँबाट बढेर १७.८७ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.४० प्रतिशतबाट बढेर ३.७० प्रतिशत पुगेको छ।

चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम ३ करोड ७२ लाख रुपैयाँ, जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ र रिजर्भमा १२ अर्ब ४९ करोड रुपैयाँ सञ्चिति रहेको छ।

बैंकले २ खर्ब ३५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेर २ खर्ब ८० अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ९ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष १ अर्ब ९० करोड रुपैयाँ धनात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*