सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै आम्दानी बढ्यो, बीमाकोष १६ प्रतिशतले वृद्धि

२७ श्रावण २०८२, मंगलवार ०७:३२

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ।

कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म ३.६३ प्रतिशतले बढेर ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत वर्ष ११.५८ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी कम्पनीले अघिल्लो वर्ष ३ अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा गत वर्ष ३ अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ। खर्चतर्फ हेर्दा अघिल्लो वर्ष २ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब ८ करोड रुपैयाँ मात्रै खर्च गरेको छ।

जसमध्ये अभिकर्तामाथि अघिल्लो वर्ष ३ करोड ७५ लाख रुपैयाँ खर्चिएको कम्पनीले गत वर्ष केही कटौती गर्दै ३ करोड ४७ लाख रुपैयाँ मात्रै खर्चिएको तथ्यांकले देखाएको छ।

यता कम्पनीको बीमाकोष अघिल्लो वर्ष ४ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा गत वर्ष १६.०२ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४ लाख रुपैयाँ, रुपेशल रिजर्भमा साढे २ अर्ब रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ४३ लाख रुपैयाँ र जगेडा कोषमा साढे ९५ करोड रुपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्ष २४.५२ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २५.४१ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २७४.५६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*