अझै माथि उठ्न सकेन घोराही सिमेन्टः नाफा र ईपीएस ऋणात्मक, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नोक्सानी घटाउँदै लगि रहेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्ष ६६ करोड ३ लाख नोक्सानी व्यहोरेको छ । कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नोक्सानी घट्न पुगेको हो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशत बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बिक्री आम्दानी ४ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल नाफा २३२.५४ प्रतिशतले बढेर १ अर्ब २ करोड ५९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको कुल नाफा ३० करोड ८५ लाख रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १७.१० प्रतिशत बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ ।
साथै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ र जगेडा कोष १४.०५ प्रतिशतले घटेर ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ ।













